Headline

ट्वान्टी ट्वान्टी विश्वकप छनोटको बदला लिने दाउमा नेपाल युएईसँग भिड्दै 

Published

on

आईसीसी विश्वकप लिग टु अन्तर्गतको आफ्नो तेश्रो त्रिकोणात्मक शृंखलाको दोश्रो खेलमा नेपालले घरेलु टोली युएईको सामना गर्दैछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आयोजना हुने खेल नेपाली समय अनुसार ११:१५ बजे सुरु हुनेछ । 

नेपालले शृंखला अन्तर्गतको आफ्नो पहिलो खेलमा पपुवा न्यु गिनी माथि दुई विकेटको सङ्घर्षपूर्ण जित हात पार्दै सुखद सुरुवात गरेको थियो । नेपाल उक्त प्रदर्शनलाई निरन्तरता दिन आतुर रहेको भए पनि युएईलाई पराजित गर्न त्यति सहज भने हुने देखिँदैन । 

त्यस बाहेक नेपाल युएईसँग गत महिना ओमानमा आयोजना भएको ट्वान्टी ट्वान्टी विश्वकप छनोटको पनि बदला लिन चाहन्छ । गत महिना सम्पन्न विश्वकप छनोटको सेमिफाइनलमा नेपाललाई पाखा लगाउँदै युएईले यसै वर्ष अक्टोबर – नोभेम्बरमा अष्ट्रेलियामा आयोजना हुने ट्वान्टी ट्वान्टी विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।

नेपाल र युएई एक आपसका परिचित प्रतिद्वन्दी भए पनि पछिल्लो समय युएईको प्रदर्शन निकै उच्च रहेको छ । युएईका ब्याटरहरु चिराग सुरी, वृत्य अरविन्द र मोहम्मद वसिमले पछिल्लो खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् भने नेपाली ब्याटरहरु आफ्नो लय समात्न असफल रहेका छन् । 

नेपाल र युएई एकदिवसीय खेलमा चार पटक एक आपसमा भिड्दा दुबै टोलीले २-२ जित निकाल्न सकेका छन् । पछिल्लो पटक घरेलु मैदानमा सन् २०१९ मा आयोजित तीन खेलको शृंखलामा युएईले पहिलो खेलमा जित निकाले पनि नेपालले त्यस पछिका दुई खेलमा लगातार जित निकाल्दै शृंखला माथि कब्जा जमाएको थियो ।  

१५ खेल खेलेको युएई आठ जित निकाल्दै १८ अंकका साथ अंक तालिकाको दोश्रो स्थानमा उक्लिएको छ भने नेपालले नौ खेल खेल्दै पाँच जित सहित १० अंक जोडेको छ र अंक तालिकाको छैटौँ स्थानमा रहेको छ ।

Click to comment

Trending