Headline

न्युजिल्याण्डबिरुद्धको टेस्ट श्रृंखलामा दक्षिण अफ्रिकाको उत्कृष्ट पुनरागमन

Published

on

न्युजिल्याण्डलाई दोश्रो टेस्टमा १ सय ९८ रनको फराकिलो अन्तरले पराजित गर्दै दक्षिण अफ्रिकाले घरेलु टोलीबिरुद्ध श्रृंखलामा बराबरी गरेको छ ।

क्राइष्टचर्चमा अन्तिम दिन ४ सय २६ रनको बिशाल लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्ड २ सय २७ रनमा अल आउट हुन पुग्यो । पहिलो टेस्टमा न्युजिल्याण्डले पाहुना टोलीलाई एक इनिङ्गस २ सय ७६ रनको बिशाल अन्तरले पराजित गरेको थियो ।

बराबरीका लागि प्रयास गरेको न्युजिल्याण्डले सोमबार चार विकेटको क्षतिमा ९४ रनबाट खेल्न शुरु गरेको थियो । न्युजिल्याण्डका लागि डेभन कन्वेले १ सय ८८ बलमा ९२ रन बनाउदै टिमको हार टार्न प्रयास गरेका थिए ।

मिडल अर्डरमा टम ब्लन्डेलले १ सय ९ बलमा ४४ रन जोडेपनि दक्षिण अफ्रिकालाई जितबाट रोक्न सकेन । दक्षिण अफ्रिकाको लागि कागिसो रबाडा, मार्को यान्सेन र केशव महाराजले ३–३ विकेट लिएका थिए ।

सरेल एर्वीले पहिलो टेस्ट शतक प्रहार गरेपछि दक्षिण अफ्रिकाले ३ सय ६४ रन बनाएको थियो । कोलिन डि ग्रान्डहोमले नटआउट १ सय २० रन बनाएपछि न्युजिल्याण्डले जवाफमा २ सय ९३ रन बनाउदा दक्षिण अफ्रिकाले ७० रनको झिनो अग्रता लिएको थियो ।

तर दोश्रो इनिङ्गसमा पनि उत्कृष्ट ब्याटिँगलाई जारी राखेको दक्षिण अफ्रिकाले काइल भेरेनेको १ सय ३६ रनको मद्दतमा ३ सय ५४ रन बनाउदै टेस्टलाई पूर्ण रुपले आफ्नो नियन्त्रणमा लिएको थियो ।

Click to comment

Trending