Headline

सुदुरमाथि सहज जितसँगै एपिएफ फेरि मेयर महिला च्याम्पियनसिप बिजेता

Published

on

ओपनर ज्योति पाण्डेले अर्को निर्णायक इनिङ्गस खेलेपछि नेपाल एपिएफ क्लब सुदुर पश्चिम प्रदेशमाथि सहज जित हात पार्दै मेयर महिला च्याम्पियनसिपको उपाधि रक्षा गर्न सफल भएको छ ।

पहिलो ब्याटिँग गरेको सुदुर पश्चिमले तारिफयोग्य प्रदर्शन गर्दै २० ओभरमा चार विकेटको क्षतिमा १ सय १३ रनको चुनौतिपूर्ण योगफल खडा गर्यो । तर ब्याटरहरुको प्रदर्शनलाई सुदुरको बलरहरुले दोहोर्याउन सकेनन् । यस क्रममा ज्योतिले दुई प्रमुख साझेदारी गरेपछि एपिएफले मात्र १५ दशमलव ५ ओभरमा दुई विकेट गुमाउदै जित हात पार्यो ।

सुदुरले लगातार तेश्रो पटक राष्ट्रिय क्रिकेटको फाइनलमा एपिएफसँग हार व्यहोरेको हो । गत संस्करणको मेयर कपको फाइनलमा पनि एपिएफसँग पराजित सुदुर प्रधानमन्त्री कपको फाइनलमा उपाधि भिडन्तमा चुकेको थियो ।

प्रतियोगिताको सर्वाधिक रन बनाउने खेलाडीहरुको शिर्ष स्थानमा रहन सफल ज्योतिले पहिलो विकेटका लागि कप्तान सीता रानामगरसँग ५८ रन जोडिन् । सीताको विकेट पछि उनले इन्दु बर्मासँग अर्को ३९ रन जोडेकी थिइन् ।

ज्योति ४४ बलमा ४३ रन जोड्दै लक्ष्मी साउदको शिकार बनिन् । उनले पाँच चौका प्रहार गरिन् । २२ बलमा तीन चौका प्रहार गरेकी सीताले १९ रन बनाइन् । इन्दु २४ बलमा दुई चौका र एक छक्काको मद्दतमा २९ रन बनाउदै नटआउट रहिन् ।

ज्योतिले प्रतियोगितामा एक अद्र्धशतकसहित कुल १ सय ५५ रन बनाइन् ।

यसअघि पहिलो ब्याटिँग गरेको सुदुरलाई लयमा रहेकी ओपनर बिन्दु रावलले चाहे अनुरुपको शुरुवात दिलाउने क्रममा पहिलो विकेटका लागि रेवती धामी (१०) सँग ४८ रन जोडेकी थिइन् । चार रनको अन्तरमा दुवै ओपनरलाई गुमाएपछि डली भट्ट र कविता कुँवरले सुदुरको इनिङ्गस सम्हालेका थिए ।

उनीहरुले तेश्रो विकेटका लागि ५२ रनको साझेदारी गरे । डलीले २५ बलमा चार चौका र एक छक्काको मद्दतमा ३६ रन बनाइन् । बिन्दुले ३६ बलमा ३७ रन बनाउदा पाँच चौका हिर्काइन् ।

कविता २५ बलमा २४ रन बनाउदै नटआउट रहिन् । सुष्मा श्रेष्ठले दुई विकेट लिँदा एपिएफले दुई खेलाडीलाई रनआउट गरेको थियो । खेलमा एपिएफले चार अतिरिक्त रन मात्र दिँदा सुदुरले भने १८ रन खर्चिएको थियो ।

Click to comment

Trending