Headline

इंग्ल्यान्ड फुटबलले रसियासँगको खेल बहिष्कार गर्ने 

Published

on

इंग्ल्यान्ड फुटबल टोलीले रसियासँगको खेल बहिष्कार गर्ने भएको छ । इंग्ल्यान्ड फुटबल संघले आगामी समयमा हुने महिला, पुरुष तथा उमेर समुहको खेलमा रसिया विरुद्ध नखेल्ने जनाएको हो ।   

रुसले युक्रेनको डनबास क्षेत्रमा रहेको दोनेस्कलुहान्स्क शहरलाई स्वतन्त्र राष्ट्रको मान्यता दिए लगत्तै युक्रेनी शहरहरूमा आक्रमण शुरु गरेको थियो । रसियाको उक्त कदममा बिभिन्न तह र तप्काबाट यसको विरोध सुरु हुँदा खेलकुदमा पनि यसको प्रभाव परेको छ ।

“हामी युक्रेनको समर्थनमा एकताबद्ध छौँ । त्यस्तै रसियन नेताहरुको अत्याचारको घोर भर्त्सना पनि गर्दछौँ । फुटबल संघले आगामी समयमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता अथवा खेलहरुमा इंग्ल्यान्डले रसिया विरुद्ध कुनै पनि फुटबल नखेल्ने पनि जनाउन चाहन्छौँ । चाहे त्यो राष्ट्रिय टोलीको खेल होस् या उमेर समुहको । त्यस्तै पारा फुटबलले पनि रसिया विरुद्ध नखेल्ने घोषणा गर्दछौँ,” संघले प्रेस विज्ञप्तिमा भनेको छ ।

यस अघि पोल्यान्डले विश्वकप छनोट अन्तर्गतको प्ले अफमा रसियासँग नखेल्ने घोषणा गरेको थियो भने फिफाले रसियन फुटबल टोलीलाई रसियाको झण्डा र राष्ट्रिय गान बिना नै खेल्न आदेश दिएको थियो । तर युरोपियन राष्ट्रहरुले फिफाको कदम प्रति असन्तुष्ट जनाएका छन् ।

त्यस्तै युएफाले पनि युक्रेन माथिको हमलाको विरोधमा रसियामा आयोजना हुने च्याम्पियन्स लिगको फाइनल खेल फ्रान्समा सार्ने निर्णय गरेको छ ।  

 

 

Click to comment

Trending