Headline

समर्थकको गालीलाई तालीमा बदल्न सफल डेम्बेले

Published

on

गत जनवरी ट्रान्सफर विन्डोमा बार्सिलोनाले आर्थिक समायोजनका लागि फ्रेञ्च औस्माने डेम्बेलेलेलाई क्लब छोडेर जान भनेको थियो । डेम्बेले क्लब नछाड्ने कुरामा अडिग रहे र आफू व्यवस्थापनसँग भिड्नका लागि तैयार रहेको पनि बताएका थिए ।

त्यसयता डेम्बेले बार्सिलोना समर्थकहरुको आँखामा काँडाको रुपमा बिझाइरहेका थिए । तर सोमबार भने उनले समर्थकहरुको वाह वाही बटुले । बार्साले एथ्लेटिक बिल्बाओलाई ४–० ले पराजित गर्दा डेम्बेले नायक रहे । उनले एक गोल गर्नुका साथै अन्य दुई गोलमा असिस्ट पनि गरे ।

दोश्रो हाफमा डेम्बेलेले गरेको उत्कृष्ट प्रदर्शनमा जनवरी ट्रान्सफर विन्डोका दौरान देखिएको खिँचातानीपछिको पहिलो गोल रह्यो । डेम्बेलेलाई टिममा राख्न बार्सा प्रशिक्षक जाभी हर्नान्डेजले महत्वपूर्ण भुमिका खेल्दै उनी टिममा घुलमिल हुने भन्दै बिश्वस्त गराएका थिए ।

“आज हामीले अहिलेसम्मकै उत्कृष्ट डेम्बेले देख्यौं र बार्सिलोनाले खोजेको नै यही हो,” जाभीले भने ।

जितपछि एट्लेटिको म्याड्रिडलाई पछि पार्दै तेश्रो स्थानमा उक्लिएको बार्सिलोना अब तेश्रो स्थानबाट मात्र एक अंकको दुरीमा छ । तेश्रोमा रहेको रियल बेटिस आइतबार नै भएको खेलमा दोश्रो स्थानको सेभियासँग २–१ ले पराजित भएको थियो ।

कम पैसामा सम्झौता नविकरण नगर्ने भन्दै बार्सा व्यवस्थापनसँग भिडेका डेम्बेले र बार्साबीचको चर्काचर्की कुनै निष्कर्षमा नपुगेर टुँगिएपछि उनी पहिलो पटक युरोपा लिगमा नापोलीबिरुद्ध खेलेका थिए । सब्स्टिच्युटका रुपमा मैदान उत्रदा बार्साका क्रुद्ध समर्थकहरुले उनलाई सिठी बचाउदै नमिठो प्रतिकृया दिएका थिए ।

आइतबार ६७ औं मिनेटमा मैदानमा प्रवेश गर्दा यसपटक पनि त्यही दृश्य दोहोरिएको थियो । तर उनको उत्कृष्ट प्रदर्शनलाई लिएर उनको सराहना गर्ने बाहेक अन्य कुनै बिकल्प ती समर्थकहरुसँग रहेन । पिएर–एमेरिक औबामेयाङले ३७ औं मिनेटमा अग्रता दिलाएपछि डेम्बेलेले गति र तागतको उत्कृष्ट नमुना प्रस्तुत गर्दै मैदान प्रवेश गरेको ६ मिनेटमै गोल गरेका थिए ।

खेलको अन्त्यतिर उनको असिस्टमै लुक डि जोँग र मेम्फिस डिपेले बार्साको जितलाई फराकिलो बनाएका थिए । टचलाइनमा जाभीसँग खुशीयाली मनाउन गएका डेम्बेलेले प्रशिक्षकलाई अंकमाल गरेपछि पुर्व बार्सिलोना लेजेण्डले क्लबको सबैभन्दा नयाँ समस्यालाई सफलतापुर्वक नियन्त्रणमा राखेको देखिएको छ ।

Click to comment

Trending