Headline

लिग टु का लागि २० खेलाडी बन्द प्रशिक्षणमा

Published

on

नेपाल क्रिकेट संघ (क्यान) ले अर्को महिना युएईमा आयोजना हुने आईसीसी विश्वकप लिग टु का लागि बन्द प्रशिक्षणमा समावेश २० जना खेलाडीको नाम सार्वजनिक गरेको छ । नेपालले लिग टु अन्तर्गत आफ्नो तेश्रो त्रिकोणात्मक शृंखलामा आयोजक युएई र पपुवा न्यु गिनीको सामना गर्नेछ ।  

क्यानले आज सार्वजनिक गरेको टोलीमा हालै ओमानमा आयोजना भएको ट्वान्टी ट्वान्टी विश्वकप छनोटमा परेका सात जना खेलाडीहरु शरद भेषावाकर, लोकेश बम, जितेन्द्र मुखिया, कुशल मल्ल, अविनाश बोहरा, शाहब आलम र प्रदिप ऐरीले टोलीमा स्थान बनाउन नसक्दा अनिल कुमार शाह, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, रोहित कुमार पौडेल, राजु रिजाल, भिम सार्की र पवन सर्राफले अन्तिम २० मा स्थान सुरक्षित गरेका छन् । 

नेपाली टोलीले केही दिन नेपालमा प्रशिक्षण गरे पछि थप प्रशिक्षणका लागि श्रीलंकाको भ्रमण गर्नेछ । नेपाली टोलीले श्रीलंका भ्रमणका क्रममा केही अभ्यास खेल खेल्ने छ भने श्रीलंकाबाट नै युएईका लागि उड्ने छ ।  

आयोजक युएई, नेपाल र पपुवा न्यु गिनी सम्मिलित शृंखलाको पहिलो खेलमा नेपालले मार्च १६ तारिकमा पपुवा न्यु गिनीको सामना गर्नेछ । मार्च १८ मा नेपालले युएईसँग खेल्ने छ भने त्यसको तीन दिन पछि आयोजक युएईसँग खेल्ने छ । नेपालले शृंखला अन्तर्गतको आफ्नो अन्तिम खेलमा पपुवा न्यु गिनीसँग खेल्ने छ ।   

सात टोली सम्मिलित लिग टु को अंक तालिकामा नेपाल आठ अंक सहित अंक तालिकाको सातौँ स्थानमा रहेको छ । नेपालले आठ खेल खेल्दा चार जित निकाल्न सकेको छ भने चार खेलमा हारको सामना गर्न बाध्य भएको छ । नेपालले हाल सम्म दुई शृंखला मात्र खेलेको छ । पहिलो पटक घरेलु मैदानमा नेपाल, ओमान र अमेरिका सम्मिलित शृंखला खेलेको नेपालले दोश्रो पटक ओमान भ्रमण गर्दै आयोजक ओमान र अमेरिका विरुद्ध खेलेको थियो ।      

नेपाली टोली : सन्दिप लामिछाने, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, गुलशन झा, करण केसी, अनिल कुमार शाह, विनोद भण्डारी, रोहित कुमार पौडेल, करण केसी, सोमपाल कामी, सुशन भारी, राजु रिजाल, भिम सार्की र पवन सर्राफ

 

Click to comment

Trending