Headline

ए डिभिजन लिगः आर्मी दोश्रो, मनाङ पाचौं स्थानमा सिमित, एनआरटी तेश्रो

Published

on

अन्तिम पाँच खेलमा निराशाजनक प्रदर्शन गरेको किर्तिमानी ८ पटकको बिजेता मनाङ मस्र्याङ्गदी क्लबलाई बराबरीमा रोक्दै त्रिुभवन आर्मी क्लब शहीद स्मारक ए डिभिजन लिग उपबिजता बनेको छ ।

आर्मी लगातार दुई सिजन उपबिजेता बनेको हो । गत सिजन उपाधिका लागि भएको लिगको अन्तिम खेलमा आर्मी मच्छिन्द्र फुटबल क्लबसँग हारेको थियो । मच्छिन्द्रले लिग उपाधि जितिसक्दा दोश्रो स्थानका लागि प्रतिस्पर्धा तिब्र रहेको थियो । आर्मी त्यसमा बाजी मार्न सफल भयो । खेलको पहिलो हाफको अन्त्यतिर मनाङले अञ्जन बिष्टको गोलमार्फत अग्रता लिएको थियो ।

आर्मीका गोलकिपर बिकेश कुथुले हेडरलाई पूर्ण रुपमा क्लियर गर्न नसकेपछि पाएको रिबाउण्डमा अन्जनले गोललाइन नजिकबाटै गोल गरेका थिए । ७६ औं मिनेटमा सन्तोष तामाङले प्रहार गरेको फ्रि–किकमा मनाङका गोलकिपर अशोक बराल र फ्रेंकलिन क्वेटे टालाबीच समन्वय हुन नसकेपछि आत्मघाती गोल हुन पुगेको थियो ।

आत्मघाती गोल क्वेटेटालाको नाममा रह्यो । लिगको अन्तिम पाँच खेलमा मात्र दुई अंक बटुलेको मनाङ पाचौं स्थानमा रहन पुग्यो । दोश्रो स्थानमा समाप्त गरेपछि आर्मीले ५० लाख नगद पुरस्कार पाउने भएको छ ।

२३ अंक रहेको न्युरोड टिम (एनआरटी) भने तेश्रो स्थानमा रह्यो । शनिबार नै एन्फा कम्प्लेक्समा भएको खेलमा मेसुके ओलेमाउले ह्याट्रिक पुरा गरेपछि एनआरटीले नेपाल पुलिस क्लबमाथि ३–१ को पुनरागमन जित हात पार्यो । पहिलो पटक ए डिभिजन लिग खेलेको सातदोबाटो युथ क्लब भने चौथो स्थानमा रह्यो ।

समान २१ अंक रहेपनि सातदोबाटोले मनाङलाई हेड टु हेड रिजल्टका आधारमा पछि पारेको हो । डेब्यु सिजनमै उत्कृष्ट प्रदर्शन गरेको सातदोबाटोले मनाङलाई पनि स्तब्ध बनाएको थियो ।

Click to comment

Trending