Headline

लुम्बिनी माथि फराकिलो जित निकाल्दै सुदूर पश्चिम ललितपुर मेयर कपको फाइनलमा 

Published

on

सम्झना खड्काले अलराउण्ड प्रदर्शन गर्दा लुम्बिनी प्रदेश माथि ३९ रनको फराकिलो जित निकाल्दै सुदूर पश्चिम प्रदेश ललितपुर मेयर महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

समुह चरणका चार मध्य तीन खेलमा जित निकाल्दै सुदूरले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । फाइनलमा प्रवेश पाउने आशा कायमै राख्नका लागि लुम्बिनीलाई जित आवश्यक रहेको थियो । तर आजको हारले उसको फाइनल खेल्ने सपना पनि चकनाचुर भयो । सुदूरले अब उपाधिका लागि यस अघि नै फाइनलमा प्रवेश पाइसकेको एपीएफ क्लबको सामना गर्नेछ ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूर पश्चिमले २० ओभर खेल्दै पाँच विकेट गुमाएर १२८ रन बनायो भने जबाफी ब्याटिङ गरेको लुम्बिनीले पुरै २० ओभर खेल्दै पाँच विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो ।

सुदूरको जितमा सम्झना खड्काले ४८ बलको सामना गर्दै पाँच चौकाको मद्दतमा सर्वाधिक ४२ रन जोडिन् भने तीन ओभरमा मात्र १३ रन खर्चिएर दुई विकेट हात पारिन् ।

पाँच रनको अवस्थामा ओपनरद्वय रेवती धामी एक तथा बिन्दु रावल गोल्डेन डक आउट हुँदा खराब सुरुवात गरेको सुदूरको लागि सम्झना र कप्तान ऋतु कनौजियाले तेश्रो विकेटका लागि ओभर ११ ओभरमा ६४ रन जोड्दै आफ्नो टोलीलाई बलियो अवस्था सम्म डोर्याए । 

सम्झना बाहेक सुदूरकी लागि ऋतुले ३४ बलमा ३३ रन प्रहार गर्दा कविता जोशीले पनि आक्रामक पारी खेल्दै २४ बलमा ३२ रनको योगदान दिइन् । सुदूरकी कविता कुँवरले पनि दुई विकेट आफ्नो नाममा दर्ता गराइन् ।

लुम्बिनीको तर्फबाट नेरी थापाले  २३, आश्मा पुलामी मगरले २२ तथा लक्ष्मी चौधरीले १० रन बाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेरीले बलिङ तर्फ तीन विकेट पनि हात पारेकी थिइन् । 

 

Click to comment

Trending