Headline

युद्धको मुल्य खेलकुदमा पनि चुकाउदै रुस, युनाइटेडले रद्द गर्यो ४० मिलियन डलरको सम्झौता

Published

on

रुसले युक्रेनमाथि युद्धको घोषणा गरेपछि त्यहाँको बिमान कम्पनी एरोलफ्टसँग गरिएको ४० मिलियन पाउण्डको ठूलो प्रायोजन सम्झौता प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले रद्द गरेको छ ।

रुसले युक्रेनको डनबास क्षेत्रमा रहेको दोनेस्क र लुहान्स्क शहरलाई स्वतन्त्र राष्ट्रको मान्यता दिए लगत्तै युक्रेनी शहरहरुमा आक्रमण शुरु गरेको छ । रुसले किएभको बिमानस्थलमा पनि बमबारी गरेको थियो भने आक्रमणपछि १ सय ३७ को मृत्यु हुनुका साथै ३ सय १६ घाइते भएको राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले दाबी गरेका छन् ।

प्रमुख शहरहरुमा आक्रमण गर्नुका साथै रुसले चेर्नोबिलको न्युक्लियर पावर प्लान्ट पनि आफ्नो नियन्त्रणमा लिएको छ । रुसी आक्रमणको बिश्वव्यापी निन्दा भइरहेको छ भने राष्ट्रपति भ्लादिमिर पुटिनलाई जर्मन तानाशाह एडोल्फ हिटरसँग दाँजिएको छ ।

पुटिनले भने आफ्नो देशलाई खतरा रहेको भन्दै युक्रेनमा आक्रमण गर्नु बाहेक अन्य कुनै बिकल्प नरहेको बताउदै आएका छन् ।

रुसले यो आक्रमणको मुल्य खेलकुदमा पनि चकाउन शुरु गरिसकेको छ । युनाइटेडले २०१३ देखि रुसी बिमान कम्पनी एरोलफ्टसँगको सम्झौता रद्द गर्ने घोषण गर्यो । २०१७ मा नविकरण भएको नयाँ ४० मिलियन पाउण्डको सम्झौता २०२३ मा सक्किने थियो ।

एरोलफ्ट रुसको राष्ट्रिय ध्वजाबाहक बिमान हो र यसले ५२ देशका १ सय ४६ गन्तब्यमा सेवा प्रदान गर्दै आइरहेको छ । ९ बर्ष लामो सम्झौताका दौरान युनाइटेडले एरोलफ्टबाट १ सय मिलियन पाउण्ड बराबरको नाफा गर्दै आएको थियो ।

च्याम्पियन्स लिग फाइनल पनि गुमायो

युरोपियन फुटबलको सर्वोच्च निकाय युएफाले रुसलाई च्याम्पियन्स लिग फाइनलको आयोजक राष्ट्रको रुपमा पनि हटाएको छ । युरोपियन फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिताको फाइनल सेन्ट पिट्सबर्गमा हुन गइरहेको थियो ।

तर युएफाले ग्याजप्रोम अरिनामा च्याम्पियन्स लिगको फाइनल नहुने बताउदै पेरिसको स्टाड डि फ्रान्सलाई आयोजना अधिकार दिएको छ । युएफाले यसका लागि फ्रेञ्च राष्ट्रपति इमानुएल म्याक्रोनलाई पनि धन्यवाद दिएको छ ।

रुसी खेलकुद पदाधिकारी तथा राजनीतिज्ञहरुले युएफाको यो निर्णयलाई लिएर आलोचना गर्दै आएका छन् ।

लगातार तेश्रो बर्ष च्याम्पियन्स लिग फाइनलको आयोजन स्थल सारिएको हो । २०२० मा कोरोना भाइरसका कारण टर्कीको इस्तानबुलमा हुने भनिएको फाइनल लिस्बनमा सारिएको थियो । गत बर्षको फाइनल पनि कोरोनाकै कारण इस्तानबुलबाट अर्को पोर्चुगिज शहर पोर्टोमा सारिएको थियो ।

युएफाले रुस र युक्रेनका क्लबहरुले खेल्ने युरोपियन प्रतियोगिताहरुका घरेलु खेलहरु न्युट्रल भेन्युमा खेल्न आदेश पनि दिएको छ । तर युएफाको आकस्मिक बैठकले रुसी पेट्रोलियम महारथी ग्याजप्रोमसँगको सम्बन्धको बारे कुनै उल्लेख गरेन ।

ग्याजप्रोम युएफाको प्रमुख प्रायोजकमध्ये रहदै आएको छ र उसले ३० मिलियन पाउण्डको सम्झौता पनि गरेको छ ।

यस्तै सेप्टेम्बरमा हुने फर्मुला वानको रसियन ग्राण्ड प्रि पनि अहिले नै रद्द गरिएको छ ।

Click to comment

Trending