Headline

नयाँ फरम्याटमा कसरी दुई समुहका आईपिएल टिमले खेल्नेछन् १४ खेल ?

Published

on

भारतीय क्रिकेट बोर्डले यस सिजनका लागि नयाँ फरम्याटमा इण्डियन प्रिमियर लिग खेलाउने भएको छ । मार्च २६ देखि शुरु हुन गइरहेको प्रतियोगितामा १० टिमलाई दुई समुहमा बिभाजन गरिएको छ ।

टिमहरुलाई उनीहरुले जितको उपाधि र प्लेअफ खेलेको संख्याको आधारमा वरियता दिदै बिभाजन गरिएको छ । लिगमा हुने ७० खेलहरु मुम्बई र पुनेका चार रँगशालामा खेलाइनेछ । प्लेअफका लागि आयोजन स्थल भने पछि निर्धारण गरिनेछ । मुम्बईको वानखेडे स्टेडियममा २० र ब्राबोन स्टेडियममा १५ खेलहरु हुनेछन् ।

यस्तै मुम्बईको तेश्रो रँगशाला डिवाई पाटिल स्टेडियमले २० र पुनेको एमसिए अन्तर्राष्ट्रिय स्टेडियमले १५ खेल आयोजना गर्नेछ ।

मुम्बई इण्डियन्स, दिल्ली क्यापिटल्स, कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स र लखनउ सुपर जायन्ट्स समुह ए मा रहेका छन् । समुह बी मा चेन्नई सुपर किंग्स, सनराइजर्स हैदराबाद, रोयल च्यालेन्जर्स बैँगलोर, पञ्जाब किंग्स र गुजरात टाइटन्स रहेका छन् ।

कसरी खेल्नेछन् प्रत्येक टोलीले लिग चरणमा १४ खेल ?

प्रत्येक समुहमा रहेका टोलीहरुले एक अर्का बिरुद्ध दुई पटक कुल ८ खेल खेल्नेछन् । अन्य ६ खेल अर्को समुहको टोलीसँग खेल्नेछन् ।

समुहमा रहेका प्रत्येक टोलीले आफू सरहका प्रतिद्वन्दीसँग दुई खेल खेल्नेछन् भने अन्य चार टोलीसँग १–१ खेल खेल्दै ६ खेल पुरा गर्नेछन् । उदाहरणका लागि समुह ए मा रहेको मुम्बई सबैभन्दा बढी उपाधि जितेको टोली रहेको छ भने समुह बी मा धेरै उपाधि जित्ने टोली चेन्नई हो । यी दुईले एक अर्कासँग दुई खेल खेल्नेछन् ।

यस्तै कोलकाता समुह ए मा मुम्बईपछि बढी उपाधि जित्ने टोली भएकाले उसले समुह बीको चेन्नईपछिको ठूलो टोली हैदाराबादको दुई पटक सामना गर्नेछ । यसरी नै राजस्थानले बैँगलोर र दिल्लीले पञ्जाबसँग दुई–दुई पटक खेल्नेछन् ।

बरियतामा नरहेका नवप्रवेशी लखनउ र गुजरातले एक अर्कासँग दुई खेल खेल्नेछन् । १४ खेल पुरा भएपछि पुरानै फरम्याट अनुसार शिर्ष चार टोलीले प्लेअफमा स्थान बनाउदै फाइनल खेल्ने छन् ।

Click to comment

Trending