Headline

रुबिनाको प्रदेश १ लाई हराउदै सुदुर पश्चिम फाइनल नजिक

Published

on

फाइनलको प्रबल दाबेदार प्रदेश १ लाई फराकिलो अन्तरले पराजित गर्दै सुदुर पश्चिम प्रदेशले ललितपुर मेयर महिला च्याम्पियनसिपतर्फ एक कदम बढाएको छ ।

प्लेयर अफ द म्याच इश्वरी बिष्टको उत्कृष्ट प्रदर्शनमा सुदुर पश्चिमले शुक्रबार त्रिवि मैदानमा भएको दोश्रो खेलमा नेपाली टोलीकी कप्तान रुबिना क्षेत्रीको नेतृत्वमा रहेको प्रदेश १ लाई ६ विकेटले हरायो ।

चार अंक सहित दोश्रो स्थानमा रहेको सुदुरले नेपाल एपिएफ क्लबसँग खेलिसकेको छ भने उसले प्रतियोगिताबाट बाहिरिसकेको ललितपुर मेयर ११ लाई पनि पराजित गरिसकेको छ । लुम्बिनी प्रदेशलाई हराउने हो भने सुदुर सहज रुपमा फाइनल पुग्न सक्छ तर हारेको खण्डमा पनि नेट रनरेटका आधारमा उसको सम्भावना प्रबल रहनेछ ।

तीनमा दुई खेल हारेको प्रदेश १ भने हार्ने संघारमा पुगेको छ । सुदुरले शनिबारको पहिलो खेलमा लुम्बिनीलाई हराउने हो भने प्रदेश १ र मेयर ११ बीचको खेलले कुनै अर्थ राख्ने छैन । सुदुर हार्ने हो भने मेयर ११ लाई फराकिलो अन्तरले हराउदै प्रदेश १ फाइनल पुग्न सक्छ ।

तर त्यसका लागि लुम्बिनी र एपिएफबीचको खेल भने कुर्नु पर्नेछ । एपिएफले लगातार तीन जितका साथ फाइनलमा स्थान लगभग पक्का गरिसकेको छ ।

शुत्रबार इश्वारीले शुरुवाती पाँच मध्ये चार विकेट लिएपछि प्रदेश १ १८ दशमलव ४ ओभरमा मात्र ५२ रनमा अलआउट हुन पुग्यो । उसका लागि संगिता राईले १२ र सबनम राइले १० रन बनाए । अन्यले दोहोरो अंक छुन सकेनन् ।

कविता जोशी र सम्झना खड्काले पनि सुदुरका लागि २–२ विकेट लिएका थिए । ओपनर बिन्दु रावलले २७ रन बनाएपछि सुदुरले १० ओभरमै जित हात पार्यो । २८ बलको सामना गरेकी बिन्दुले चार चौका प्रहार गरेकी थिइन् ।

१६ रनमा दुई विकेट गुमाएको सुदुरलाई जिततर्फ धकेल्न बिन्दुले तेश्रो विकेटका लागि कप्तान रितु कनौजिया (९) सँग ३० रन जोडिन् । प्रदेश १ का लागि रुबिनाले २ विकेट हात पारिन् ।

Click to comment

Trending