Headline

युरोपा लिगः बार्साद्वारा नापोली नकआउट, डर्टमण्ड बाहिरियो

Published

on

जनवरीमा भित्र्याएका खेलाडीहरु चम्किएपछि बार्सिलोना नापोलीलाई ४–२ ले पराजित गर्दै युरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेको छ भने जर्मन लिगको उपाधि होडमा रहेको बोरुसिया डर्टमण्ड बाहिरिएको छ ।

१७ बर्षमा पहिलो पटक बार्सिलोना च्याम्पियन्स लिगको नकआउट स्टेजमा खेलिरहेको थिएन र क्याम्प नोउमै पहिलो लेगमा १–१ को बराबरी रोक्किएपछि उसलाई इटालीमा धेरै नै मिहिनेतको आवश्यकता रहेको थियो ।

तर आफ्नो आर्थिक संकटका बावजुद जनवरीमा ट्रान्सफरमा भित्र्याएका फेरान टोरेस, अडामा ट्राओरे र पिएरे–एमेरिक औबामेयाङले खेलमा प्रभाव जमाएपछि बार्सा अवे खेलमा सफल भयो ।

बार्सा १३ औं मिनेट भित्रै दुई गोलको अग्रता लिन सफल भएको थियो । ट्राओरेले गति समात्दै दिएको बलमा जोर्डी आल्बाले पहिलो गोल गरे भने फ्रेंकी डी जोँगले बक्सले ठ्याक्कै बाहिरबाट प्रहार गरेको घुमाउरो बलले जाली चुमेको थियो ।

लोरेन्जो इन्सिग्नेको पेनाल्टीले बार्सासँगको दुरी घटाए पनि अल्बाको क्रसमा जेरार्ड पिकेले फार कर्नरमा गोल गरेपछि दुई गोलको अग्रता फर्किएको थियो । क्लबका लागि चौथो खेल खेल्दै गर्दा आइतबार भ्यालेन्सियबिरुद्ध ह्याट्रिक गरेका औबामेयाङले ट्राओरेको अर्को असिस्टमा उत्कृष्ट फिनिसिँँग गर्दै बार्साको अन्तिम १६ पक्का गरेका थिए ।

म्याटियो पोलिटानोले खेल सकिन तीन मिनेट बाँकी हुँदा नापोलीका लागि अर्को गोल फर्काउदा इटालियन सिरी आ उपाधि होडमा कायमै रहेको टोलीका लागि धेरै ढिलो भइसकेको थियो ।

डर्टमण्ड स्कटिस क्लब रेन्जर्ससँग दोश्रो लेगमा २–२ को बराबरीपछि समग्रमा ६–४ ले हार्दै बाहिरिन पुग्यो । पहिलो लेगमा डर्टमण्डले ४–२ को नराम्रो हार व्यहोरेको थियो । रेन्जर्सका लागि कप्तान जेम्स टेभेर्नियरले दुई गोल गरे भने डर्टमण्डका लागि जुड बेलिंघम र डनयेल मलेनले गोल गरे ।

रियल बेटिससँगको दोश्रो लेग गोलरहित बराबरीमा टुँगिएपछि रुसी क्लब जेनिट सेन्ट पिट्स्बर्ग समग्रमा ३–२ को हार व्यहोर्दै बाहिरियो । सेभियाले डिनामो जाग्रेबसँग दोश्रो लेगमा १–० ले पराजित भएपछि पहिलो लगेमा हात पारेको ३–१ को जितले उसलाई बचायो ।

Click to comment

Trending