Headline

टाइम्समाथि आर्मीको शान्दार बदला, पुलिसलाई महिलातर्फको उपाधि

Published

on

नेपाल आर्मीले नेपाल बास्केटबल लिगको दोश्रो संस्करणको फाइनलमा टाइम्ससँग व्यहोरेको हारको बदला लामा टेन्डी शेर्पा स्मृति राष्ट्रिय बास्केटबल प्रतियोगितामा पुरा गरेको छ ।

दशरथ रँगशाला कभर्ड हलमा आर्मीले बिहिवार भएको फाइनलमा टाइम्समाथि ९०–५८ को एकपक्षीय जित हात पार्यो । आर्मी २०१९ मा नेपाल बास्केटबल लिगको दोश्रो संस्करणमा टाइम्ससँग उपाधि भिडन्तमा पराजित भएको थियो ।
महिलातर्फ नेपाल पुलिस क्लब च्याम्पियन बन्यो । फाइनलमा पुलिसले रोयल बास्केटबल एकेडेमीलाई ५२–४९ ले हरायो । दुवैतर्फको च्याम्पियन र उपबिजेताले समान ५० हजार र २५ हजार नगद प्राप्त गरे ।

आर्मीले शुरुवातदेखि नै पूर्ण रुपमा खेल आफ्नो नियन्त्रणमा राखेको थियो । पहिलो दुई क्वार्टर २२–१० र २४–२० ले आफ्नो पक्षमा पार्दै आर्मीले हाफ टाइमअघि १६ अंकको अग्रता बनाइसकेको थियो । तेश्रो क्वार्टरमा पनि १७–१६ को झिनो अग्रता लिएको आर्मीले अन्तिममा २७–१२ को प्रदर्शन गर्यो ।

आर्मीका लागि आयुष सिँहले सर्वाधिक २७ अंकको योगदान दिए । टाइम्सका लागि सदिश प्रधानले १७ पोइन्ट गरे ।

प्रतिस्पर्धात्मक महिला तर्फको फाइनलमा पुलिस र रोयल दुवैले ८–८ अंकबाट शुरुवात गरेका थिए । दोश्रो क्वार्टरमा पुलिसले २५–२० को प्रदर्शन गर्दा पाँच अंकको महत्वपूर्ण अग्रता लियो । तेश्रो क्वार्टर पनि १४–११ ले आफ्नो पक्षमा पारेको पुलिस जितर्फ अग्रसर बनेको थियो ।

अन्तिम क्वार्टरमा रोयलले १५–१० को अग्रता लिएपनि उसको हातबाट उपाधि फुत्किसकेको थियो । राउण्ड रोबिन लिगमा पुलिसलाई पराजित गर्दै रोयल बिजेताको रुपमा फाइनल पुगेको थियो । लिगमा उपबिजेता पुलिसलाई फाइनलमा उपाधि दिलाउन अनुषा मल्लले १९ पोइन्ट स्कोर गरिन् ।

रोयलका लागि रोशनी श्रेष्ठले १४ अंक जोडिन् । अनुषा टुर्नामेन्ट एमभीपी बनिन् भने पुरुषतर्फ बिनोद महर्जन एमभीपी रहे । रोयलका सुदिप पौडेल क्षेत्री र रुपन्देहीकी दिपिका गुरुङ उदीयमान खेलाडी घोषित भए ।

Click to comment

Trending