Headline

कुशल भुर्तेलको पाचौं ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय अद्र्धशतकमा नेपालको ओमानमाथि अर्को ठूलो जित

Published

on

बलरहरुको उत्कृष्ट प्रदर्शनलाई साथ दिदै कुशल भुर्तेलले आफ्नो पाचौं ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय अद्र्धशतक पुरा गर्दा नेपालले ओमानलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै ट्वान्टी ट्वान्टी बिश्वकप छनोटको अन्त्य गरेको छ ।

जितका लागि ८८ रनको झिनो लक्ष्य नेपालले १६ दशमलव २ ओभरमा हात पार्यो । आफ्नो ११ औं ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलिरहेका कुशलले अर्को अद्र्धशतक पुरा गर्दै नटआउट इनिङ्गस खेलेका कुशलले ५३ बलमा ५५ रन बनाए ।

कुशलले आसिफ शेख (१३) सँग पहिलो विकेटका लागि ५० रनको साझेदारी गर्दै नेपाललाई सहज जिततर्फ धकेलेका थिए । आईसीसीको पछिल्लो बिश्व बरियतामा ३९ औं स्थानमा उक्लिएका कुशलले दुई छक्का र तीन चौका प्रहार गरे ।

प्रतियोगितामा एक शतकसहित २ सय ५ रन बनाएका कुशलको छनोटमा प्रदर्शन तथ्यांकका आधारमा उत्कृष्ट रह्यो । ५ खेलमा उनको औषत १ सय २ दशमलव ५० को औषतमा रह्यो भने सबैभन्दा बढी रन बनाउने खेलाडीहरुको सुचीमा उनी तेश्रो नम्बरमा रहे ।

कुशलसँग दोश्रो विकेटका लागि ४० रन जोडेका आरिफ शेखले २७ बलमा २१ रन बनाए । ओमानका लागि एक मात्र विकेट कप्तान जिशान मक्सुदले लिए । नेपालले ओमानलाई उसकै घरमा लगातार तीन वटा खेलमा पराजित गरेको हो । यसअघि उसले चारदेशीय श्रृंखला र छनोटको समुह चरणमा हराएको थियो ।

यसअघि कप्तान सन्दिप लामिछानेले उत्कृष्ट बलिँग प्रदर्शन गरेपछि ओमान २० ओभरमा ९ विकेटको क्षतिमा ८७ रनमै रोक्किएको थियो । घरेलु टोली लगातार दोश्रो पटक नेपालबिरुद्ध १ सय रनभन्दा कममा समेटिएको हो । समुह चरणको पहिलो खेलमा नेपालले ओमानलाई ७८ रनमै अलआउट गर्दै लो–स्कोरिङ्ग खेलमा ३९ रनको फराकिलो जित हात पार्न सफल भएको थियो ।

दोश्रो ओभरमै जतिन्दर सिँहलाई गुमाएको ओमानले १९ रनमै चार विकेट गुमाएको थियो । कप्तान जिशान मक्सुदले केही बेर नेपाललाई रोक्ने प्रयास गरेपनि उनी २१ रन बनाई आरिफ शेखको बलमा आउट भएका थिए ।

सागर ढकालले आफ्नो पहिलो अन्तर्राष्ट्रिय विकेट लिने क्रममा आयान खान (१६) लाई आसिफ शेखको हातबाट स्टम्पिँग गराउदा अर्को ओभरको पहिलो बलमै सन्दिप गाउड रनआउट हुन पुगेका थिए ।

सन्दिपले आक्रमक ब्याट्स्म्यान नसिम खुशी र नेस्टर धाम्बाको विकेट लिदै तेश्रो तीन विकेटको प्रदर्शन गरे । उनले चार ओभरमा मात्र १३ रन खर्चिएका थिए । सन्दिपलाई छक्का प्रहार गरे लगत्तै एलबिडब्लु धरापमा परेका खुशीले १५ रन बनाए ।

सन्दिप प्रतियोगितामा सबैभन्दा बढी विकेट लिने खेलाडीहरुको सुचीमा शिर्ष स्थानमा रहे । उनको नाममा १२ विकेट रहेको छ । ओमानका लागि कप्तान मक्सुदले २८ बलमा तीन चौकाको मद्दतमा २१ रन बनाए । ओमानको तीन वटै चौका उनको नाममा रह्यो । कमल सिँह ऐरि र अविनाश बोहोराले पनि नेपालका लागि १–१ विकेट लिए ।

Click to comment

Trending