Headline

नेपालको ओमानबिरुद्ध अर्को उत्कृष्ट प्रदर्शन, घरेलु टोलीले फेरि १ सय पनि बनाउन सकेन

Published

on

कप्तान सन्दिप लामिछानेले उत्कृष्ट बलिँग प्रदर्शन गरेपछि नेपालले आईसीसी ट्वान्टी ट्वान्टी बिश्वकप छनोटमा ओमानलाई ८७ रनमै समेटेको छ ।

तेश्रो स्थानका लागि भएको खेलमा नेपाली बलरहरु एक पटक फेरि हावी हुँदा ओमानले २० ओभरमा ९ विकेटको क्षतिमा मात्र ८७ रन बनाउन सक्यो । घरेलु टोली लगातार दोश्रो पटक नेपालबिरुद्ध १ सय रनभन्दा कममा समेटिएको हो ।

यसअघि समुह चरणको पहिलो खेलमा नेपालले ओमानलाई ७८ रनमै अलआउट गर्दै लो–स्कोरिङ्ग खेलमा ३९ रनको फराकिलो जित हात पार्न सफल भएको थियो ।

दोश्रो ओभरमै जतिन्दर सिँहलाई गुमाएको ओमानले १९ रनमै चार विकेट गुमाएको थियो । कप्तान जिशान मक्सुदले केही बेर नेपाललाई रोक्ने प्रयास गरेपनि उनी २१ रन बनाई आरिफ शेखको बलमा आउट भएका थिए ।

सागर ढकालले आफ्नो पहिलो अन्तर्राष्ट्रिय विकेट लिने क्रममा आयान खान (१६) लाई आसिफ शेखको हातबाट स्टम्पिँग गराउदा अर्को ओभरको पहिलो बलमै सन्दिप गाउड रनआउट हुन पुगेका थिए ।

सन्दिपले आक्रमक ब्याट्स्म्यान नसिम खुशी र नेस्टर धाम्बाको विकेट लिदै तेश्रो तीन विकेटको प्रदर्शन गरे । उनले चार ओभरमा मात्र १३ रन खर्चिएका थिए । सन्दिपलाई छक्का प्रहार गरे लगत्तै एलबिडब्लु धरापमा परेका खुशीले १५ रन बनाए ।

सन्दिप प्रतियोगितामा सबैभन्दा बढी विकेट लिने खेलाडीहरुको सुचीमा शिर्ष स्थानमा रहेका छन् । उनको नाममा १२ विकेट रहेको छ । ओमानका लागि कप्तान मक्सुदले २८ बलमा तीन चौकाको मद्दतमा २१ रन बनाए । ओमानको तीन वटै चौका उनको नाममा रह्यो ।

ओमानले बाउन्डरीबाट मात्र २४ रन बटुलेको थियो । कमल सिँह ऐरि र अविनाश बोहोराले पनि नेपालका लागि १–१ विकेट लिए ।

Click to comment

Trending