Headline

आईसीसीको नयाँ नियम, ११ जनाको सट्टामा नौ जना मात्र पनि मैदानमा उतार्न सकिने

Published

on

अर्को महिनाबाट न्युजिल्यान्डमा सुरु हुन लागेको महिला विश्वकपमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) नयाँ नियम लागू गर्ने भएको छ ।

यदि कुनै पनि टोलीमा खेलाडीहरूलाई कोरोना संक्रमण भएको खण्डमा नौ जना खेलाडी राखेर मात्र भए पनि खेल खेलाउन सकिने नियम लागू गर्न लागेको हो । आईसीसीका प्रतियोगिता प्रमुख क्रिस टेट्लीले यसको पुष्टि गर्दै कोरोनाका कारण खेल नियममा परिवर्तन गर्न लागिएको जनाए । त्यस्तै उनले कुनै टोलीमा कोरोना संक्रमण लागेको खण्डमा नौ जना मात्र खेलाडी भयो भने दुईजना टोलीका सदस्य र कोचिङ स्टाफले पनि फिल्डिङ गर्न पाउने भएको छ ।     

“अहिले कोरोना संक्रमण हुनेको संख्या वृद्धि भएका कारण हामीले खेल नियममा परिवर्तन गर्न लागेका हौँ । कुनै टोलीमा कोरोना संक्रमण फैलिएर नौ जना सम्म खेलाडी खेल्न मिल्ने भएको अवस्थामा हामीले नौ जनालाई मात्र खेलाउन सकिने गरेर नियम परिवर्तन गरेका छौँ,” टेट्लीले भने । “त्यस्तै कुनै टोलीमा टोलीका सदस्य र कोचिङ स्टाफ महिला छन् भने उनीहरुले खेलमा फिल्डरका रुपमा मैदानमा प्रवेश पाउने छन् । तर उनीहरुले ब्याटिङ र बलिङ भने गर्न पाउने छैनन् । यो नियम खेल सञ्चालन होस् भन्ने सोचेर बनाइएको हो ।” 

आईसीसीले विश्वकप लगायत आफूले आयोजना गर्ने प्रतियोगिताहरूमा १५ जना खेलाडीलाई मात्र स्थान दिने गर्दछ । तर यस पटक कोरोनाका कारण उसले थप तीन जना खेलाडीलाई टोलीमा वैकल्पिक खेलाडीका रुपमा राखिएको छ र कुनै पनि उनीहरूले अन्तिम १४ मा स्थान बनाउन सक्ने छन् । 

हाल न्युजिल्यान्डमा ओमिक्रन भेरियन्टको कोरोनामा व्यापक वृद्धि भएका कारण पनि आईसीसीले यो नियम लागू गरेको हो । पछिल्लो समय न्युजिल्यान्डमा दैनिक पाँच हजार भन्दा धेरैलाई कोरोना संक्रमण भएको तथ्यांक छ ।  

आगामी मार्च चारमा सुरु हुने महिला विश्वकपको उद्घाटन खेलमा आयोजक न्युजिल्यान्ड र वेस्ट इन्डिज भिड्ने छन् । 

Click to comment

Trending