Headline

दुई सातामा तेश्रो पटक ओमानको सामना गर्दै नेपाल

Published

on

ओमानसँग दुई सातामा तेश्रो पटक खेल्न गइरहेको नेपाल आईसीसी ट्वान्टी ट्वान्टी बिश्वकप छनोटमा सुखद अन्त्य गर्न चाहन्छ ।

अल अमिरात क्रिकेट एकेडेमी मैदानमा नेपाल र ओमान तेश्रो स्थानका लागि खेल्न गइरहेका छन् । टुरको शुरुवात गर्दा नेपालले चारदेशीय ट्वान्टी ट्वान्टी श्रृंखलामा घरेलु टोलीबिरुद्ध खेलेको थियो भने बिश्वकप छनोटमा पनि दुवै टोली एकै समुहमा रहेको थियो ।

दुवै पटक नेपालले ओमानबिरुद्ध शान्दार जित हात पारेको थियो । नेपाल लगातार तेश्रो जित हात पार्दै ओमानमाथि अपराजित यात्रालाई निरन्तरता दिन चाहन्छ । गत सेप्टेम्बर १९ क्रिकेट बिश्वकप लिग टु अन्तर्गतको अन्तिम खेलमा ओमानलाई ७ विकेटले हराएको नेपाल लगातार तीन जितको श्रृंखलामा रहेको छ ।

चारदेशीय श्रृंखलामा दिपेन्द्र सिँह ऐरिको उच्च प्रदर्शनमा नेपालले १ सय ३६ रनको लक्ष्य पछ्याउने क्रममा ६ विकेटको जित हात पारेको थियो । बिश्वकप छनोटमा नेपाल १ सय १७ रनमै अलआउट भएपनि बलरहरुले उत्कृष्ट कमब्याक गर्दा ३९ रनको फराकिलो जित हात पार्न सफल भएको थियो ।

सम्मानका लागि हुने खेलमा नेपाल जितकै लागि खेल्नेछ तर प्रशिक्षक पुबुदु दासानायकेले केही परिवर्तन भने अवश्य गर्नेछन् । पुबुदुले एक पटक फेरि फिलिपिन्सबिरुद्धको खेलमा अवसर पाएका गुल्शन झालाई मौका दिने छन् भने ब्याटिँग निरन्तर फ्लप भइरहेका कुशल मल्ल पनि आफ्नो फर्म फिर्ता गर्नका लागि टिममा आउन सक्छन् ।

यस्तोमा नेपालले जितेन्द्र मुखिया अथवा अविनाश बोहोरोमध्ये कोही एकलाई बिश्राम दिन सक्छ भने मिडल अर्डरबाट पनि एक खेलाडी बाहिरिनेछन् ।

घरेलु मैदानमै भएको बिश्वकप छनोटमा ओमान प्रबल दाबेदारमा गनिएपनि उसको खेल भने खस्किदै आएको छ । चारदेशीय श्रृंखलामा नेपालसँगै ओमान आयरल्याण्डसँग पनि पराजित भएको थियो भने उसले युएईलाई स्तब्ध बनाएको थियो । छनोटको सेमिफाइनलमा आयरल्याण्डबिरुद्ध ओमान १ सय ६६ रनको लक्ष्य पछ्याउने क्रममा १ सय ९ रनमै अल आउट भएको थियो ।

 

Click to comment

Trending