Headline

लिड्सबिरुद्ध आधा दर्जन गोल गर्दै लिभरपुल प्रिमियर लिग उपाधिको दाबेदारीमा

Published

on

लिड्सबिरुद्ध गोलको बर्षा गर्दै लिभरपुलले इंगलिस प्रिमियर लिगमा शिर्ष स्थानको म्यानचेस्टर सिटीसँगको दुरी तीन अंकमा झारेको छ ।

चेल्सीबिरुद्ध आइतबार हुने लिग कपको फाइनल अघि राम्रो वार्म–अप गरेको लिभरपुलले लिड्सलाई ६–० ले हरायो । एन्फिल्डमा लिड्समाथि पूर्ण रुपले हावी भएको लिभरपुलले शुरुवाती २० मिनेटमै तीन गोल गरेको थियो ।

आफ्नो उच्च लयलाई निरन्तरता दिने क्रममा मोहम्मद सलाहले पेनाल्टीमा दुई गोल गरे भने इजिप्सियन स्टारले जोल म्याटिपका लागि असिस्ट दिएका थिए । म्याटिपले २०२० डिसेम्बर पछि लिभरपुलका लागि पहिलो गोल गरेका हुन् ।

खेलको अन्त्यतिर लिभरपुलका अर्का अफ्रिकी स्टार सादियो मानेले दुई गोल थपे र भर्जिल भान डाइकले इन्जुरी समयमा छैटौं गोल गरे । सिटीभन्दा चार गोल बढी गरेको लिभरपुलका लागि अब अप्रिल ९ मा इतिहाद स्टेडियममा डिफेन्डिँग च्याम्पियनबिरुद्धको खेल निर्णायक साबित हुन सक्छ ।

टोटेन्ह्याम हटस्पर्ससँग पराजित भएपछि लिभरपुललाई सुनौलो अवसर थियो र त्यसको फाइदा उसले बुधबार उठायो । २६ खेलपछि सिटीको ६३ र लिभरपुलको ६० अंक छ । तेश्रो स्थानमा रहेको चेल्सीको ५० र चौथोमा रहेको म्यानचेस्टर युनाइटेडको ४६ अंक छ ।

प्रिमियर लिगमा च्याम्पियन्स लिग स्थानका लागि प्रतिस्पर्धा तिब्र बन्दा वेष्ट ह्याम र आर्सनलको समान ४२ अंक छ । तीन खेल कम खेलेको आर्सनल तेश्रो स्थानको दाबेदारीसम्म आउन सक्छ ।

शिर्ष स्थानमा रहेदेखि सिटीले दवाब बनाएपनि लिभरपुल तथ्यांकमा भने यो सिजन पूर्ण रुपमा हावी भएको छ । सबैभन्दा बढी गोल गर्ने र असिस्ट दिने खेलाडीहरुको सुचीमा लिभरपुलका खेलाडीहरु नै शिर्ष तीनमा रहेका छन् ।

सलाहले सर्वाधिक १९ गोल गरेका छन् भने त्यसपछि डिओगो जोटाको १२ र मानेको ११ गोल रहेको छ । समान १० असिस्ट सहित ट्रेन्ट–एलेक्जेण्डर आर्नोल्ड र सलाह शिर्ष स्थानमा छन् भने एन्डी रोबर्ट्सनको ९ असिस्ट रहेको छ ।

Click to comment

Trending