Headline

लुम्बिनीको सनसनीपूर्ण जितमा नेरीले अन्तिम ओभरमा लिइन् ह्याट्रिक

Published

on

नेपाली महिला राष्ट्रिय टोलीकी पुर्व कप्तान नेरी थापाले अन्तिम ओभरमा ह्याट्रिक लिएपछि लुम्बिनी प्रदेशले सनसनीपूर्ण महिला मेयर च्याम्पियनसिपको खेलमा दुई रनको जित हात पारेको छ ।

११ रनमा ५ विकेट लिएपछि लुम्बिनीले ललितपुर मेयर ११ माथि संघर्षपूर्ण जित हात पार्यो । पहिलो ब्याटिँग गरेको लुम्बिनीलाई मेयर ११ ले चार विकेटको क्षतिमा ९४ रनमै रोकेको थियो ।

जित हातमा ल्याइसकेको मेयर ११ ले अन्तिम दुई ओभरमा खेल गुमायो । उसले ९ विकेटको क्षतिमा ९२ रन मात्र बनाउन सक्यो । मेयर ११ लाई अन्तिम १२ बलमा मात्र १५ रनको आवश्यकता रहेको थियो ।

सुष्मिता भुषालले गरेको १९ औं ओभरमा मेयर ११ ले ८ रन त बटुल्यो तर उसले लगातार कप्तान सरस्वती चौधरी र आरती बिडारीलाई गुमाएको थियो । नेरीको अन्तिम ओभरको पहिलो बलमा अस्मिनना कर्माचार्यले एक रन लिएपछि मेयर ११ लाई अन्तिम ५ बलमा ६ रनको आवश्यकता रह्यो ।

तर नेरीले लगातार खुशी डँगोललाई एलबिडब्लु ट्रयाप गर्नुका साथै शीला क्षेत्री र अलिशा यादवलाई बोल्ड गर्दै ह्याट्रिक पुरा गरेकी थिइन् । अन्तिम दुई बलमा मेयर ११ ले मात्र तीन रन बटुल्न सक्यो ।

प्लेयर अफ द म्याच नेरीले चार ओभरमा मात्र ८ रन खर्चदै चार विकेट हात पारिन् । अस्मिना २१ बलमा दुई चौकका साथ २० रनमा नटआउट रहिन् । मेयर ११ का लागि ओपनर कञ्जन श्रेष्ठले सर्वाधिक २२ रन बनाएकी थिइन् । उनले ३६ बलमा एक चौका प्रहार गरिन् ।

लुम्बिनीका लागि कृतिका मराशिनीले पनि तीन विकेट हात पारिन् ।

यसअघि पहिलो ब्याटिँग गरेको लुम्बिनीले ११ रनमै दुई विकेट गुमाएपछि सरस्वती जिएमले सम्हालेकी थिइन् । उनले नेरी (१५) सँग ३७ र चौथो विकेटका लागि सरस्वती पुनसँग ४३ रनको निर्णायक साझेदारी गरेकी थिइन् ।

सरस्वती जिएमले ४७ बलमा दुई चौका प्रहार गर्दै ३१ रन बनाइन् भने पुनले २७ बलमा एक चौकाको मद्दतमा २० रन जोडिन् । मेयर ११ ले २२ अतिरिक्त दिएको थियो । उसका लागि सुमन खतिवडाले तीन र शीलाले एक विकेट लिएकी थिइन् ।

Click to comment

Trending