Headline

टिममा गुल्शनको स्थानलाई लिएर स्पष्ट छन् दासानायके

Published

on

घरेलु क्रिकेटको आफ्नो दोश्रो खेलमै तहल्का मच्चाएपछि राष्ट्रिय टिममा स्थान पाएका तिब्र गतिका युवा बलर गुल्शन झा नेपाली टोलीमा स्थान बनाउन सफल भएका थिए ।

यसअघिको ओमान भ्रमणमा आईसिसि क्रिकेट बिश्वकप लिग टु अन्तर्गत अमेरिकाबिरुद्ध एकदिवसीयमा डेब्यु गरेका गुल्शनलाई यसपटक प्रशिक्षक पुबुदु दासानायकेले करण केसी चोटका कारण बाहिरिएपछि उनको स्थानमा नेपालबाट झिकाएका थिए ।

ट्वान्टी ट्वान्टी बिश्वकप छनोट अन्तर्गत घरेलु टोली ओमानबिरुद्धको पहिलो खेलको एक दिन अघि मस्क्याट आएका गुल्शन थकानकै कारण पनि पहिलो खेलमा मौका नपाउने निश्चित थियो ।

ओमान पुगेको एक दिनपछि नै शनिबार कमजोर फिलिपिन्सबिरुद्ध ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा पाएका गुल्शनको यो फरम्याटमा डेब्यु औषत रह्यो । फिलिपिन्सको तल्लो क्रमको विकेट पाएका गुल्शनले तीन ओभरमा १६ रन खर्चिए ।

फिलिपिन्स ८२ रनमै रोकिँदा गुल्शन अर्का अनुभवी तिब्र गतिका बलर अविनाश बोहोरा भन्दा कम खर्चिला साबित भए । अन्तिम ओभरमा १७ रन खर्चन पुग्दा अविनाशले तीन ओभरमा एक विकेट लिएर २१ रन दिएका थिए । गत एक बर्षदेखि सबैभन्दा बढी चर्चामा रहेका गुल्शनबारे प्रशिक्षक दासानायके भने स्पष्ट छन् । गुल्शन उनको प्रमुख रोजाईमा छैनन् र सम्भवत ओमानमा फिलिपिन्ससँगको खेल नै उनको अन्तिम हुनेछ ।

प्रदर्शनका आधारमा कुनै अनिष्ट नहुने हो भने नेपालको सेमिफाइनल यात्रा लगभग पक्का भइसकेको छ । यस्तोमा दासानायके जम्मा दुई खेल कान्छा गुल्शनलाई लिएर कुनै रिस्क लिन चाहदैनन् ।

“गुल्शन हाम्रो लागि प्रमुख रोजाइका बलर होइनन् तर हामी उनलाई अन्य कुनै खेलाडी घाइते भएको अथवा अन्य कुनै कारण भएको खण्डमा तैयार राख्न चाहन्छौं,” दासानायके भन्छन् ।

“कमल (फिलिपिन्सबिरुद्ध बिश्राम पाएका तिब्र गतिका बलर कमल सिँह ऐरि) ले लगातार खेल्दै आइरहेका छन् । त्यसैले हामी उनलाई अर्को खेलमा फ्रेश भएको हेर्न चाहन्छौं । हामीले फिलिपिन्सबिरुद्ध जम्मा दुई परिवर्तन गर्यौ र सबै क्षेत्रमा हामी निश्चिन्त भइसकेका छौं,” दासानायकेले थपे ।

“हामी हरेक खेल जित्न चाहन्छौं र यसका लागि हामीले हाम्रो उत्कृष्ट टोली बनाउन आवश्य छ,” दुई प्रमुख फास्ट बलिँग अलराउण्डर सोमपाल कामी र करण बिनै चुनौतिपूर्ण ओमान भ्रमणमा नेपाललाई बिश्वकपमा फर्काउने चुनौतिका साथ आएका दासानायके भन्छन् ।

Click to comment

Trending