Headline

एनआरटी मनाङलाई स्तब्ध पार्दै लिगको दोश्रो स्थानमा

Published

on

मनाङ मस्र्याङ्गदी क्लबलाई १–० ले स्तब्ध बनाउदै न्युरोड टिम (एनआरटी) शहीद स्मारक ए डिभिजन लिगको दोश्रो स्थानमा उक्लिएको छ ।

लिगको अन्तिम भागमा निकै निराशाजनक प्रदर्शन गर्दै आएको मनाङलाई स्तब्ध पार्न मेसुके ओलेमेउले खेलको एक मात्र निर्णायक गोल गरे । लिग उपाधि हातबाट फुत्सिकेको अवस्थामा कम्तिमा पनि दोश्रो स्थानमा रहने मनाङको अभियानमा झड्का लागेको छ ।

एक खेल मात्रै बाँकी रहेको अवस्थामा मनाङ र एनआरटीको समान २० अंक भएको छ । एनआरटी हेड टु हेड रिजल्टका आधारमा दोश्रो स्थानमा रहेको हो । दोश्रो स्थानकै दावेदारीमा त्रिभुवन आर्मी क्लब र थ्रि स्टार पनि रहेका छन् ।

दुई खेल खेल्न बाकीँ रहेको आर्मीको १९ अंक छ भने थ्रि स्टारको १८ अंक छ । संकटा १५ अंक सहित छैटौं स्थानमा छ ।

च्यासल युथ क्लबलाई ५–० ले पराजित गरे यता मनाङले लगातार निराशाजनक परिणाम दिदै आएको छ । उसले पछिल्लो चार खेलमा मात्र एक अंक बटुलेको हो । यस क्रममा मनाङ सातदोबाटो युवा क्लब र नेपाल एपिएफ क्लबसँग पनि पराजित हुन पुग्यो ।

२६ औं मिनेटमा एनआरटीले खेलमा अग्रता लियो । एरिक बिष्टको फ्रि–किकमा बक्स भित्र पाएको बललाई मेसुकेले सशक्त प्रहार गर्दै गोल गरेका थिए ।

६० औं मिनेटमा ओलावले ओलादिपो अफिजले दिनेश राजबंशीबाट आएको थ्रो बलमा बनेको अवसरमा पेनाल्टी स्पटबाट गरेको प्रहार एनआरटी डिफेन्सले बचाएको थियो । ७९ औं मिनेटमा एनआरटीले अग्रता दोब्बर बनाउने सुनौलो अवसर गुमायो । यसमा उच्च प्रदर्शन रह्यो मनाङ गोलकिपर अशोक बराल ।

एनआरटीले उत्कृष्ट टिम मुभ बनाउदै आएको बलमा दर्शनले एक डिफेन्डरलाई बिट गरेपनि उनले गरेको घुमाउरो प्रहारलाई अशोकले लोभलाग्दो तरिकाले बचाएका थिए । खेलको अन्तिम तिर एनआरटी गोलकिपर पुजन होनाले परिपक्व निर्णय गर्दै खतरापूर्ण स्थितिमा बल क्लियर गरिदिएका थिए ।

यस्तै मनाङका ओलावाले अफिजले बिमल रानाको पासमा गरेको हेडर क्रसबारमा लागेर फर्किएको थियो ।

Click to comment

Trending