Headline

मेन्डिसको अर्धशतकमा श्रीलंकाको सान्त्वना जित 

Published

on

ओपनर कुसल मेन्डिसले अविजित रहँदै अर्धशतक प्रहार गरे पछि घरेलु टोली अष्ट्रेलिया विरुद्धको ट्वान्टी ट्वान्टी शृंखलामा श्रीलंकाले सान्त्वना जित हात पारेको छ ।

पाँच खेलको शृंखला अन्तर्गत यस अघि भएका चारवटै खेलमा हार चाखेको पाहुना टोली श्रीलंकाले पाँचौं तथा अन्तिम खेलमा पाँच विकेटको रोमान्चक जित हात पार्यो । अन्तिम खेलमा पराजित भए पनि अष्ट्रेलियाले पाँच खेलको शृंखला ४-१ ले कब्जा जमायो ।

ओपनर मेन्डिसले अर्धशतकीय पारी खेल्दा १५५ रनको मध्यम लक्ष्य पाएको श्रीलंकाले पाँच विकेट गुमाएर एक बल अगाडी जित हात पार्यो ।    

७१ रनमा चार विकेट गुमाएको श्रीलंकाको जितमा मेन्डिस र कप्तान दासुन शनाकाले पाँचौ विकेटका लागि ८३ रनको साझेदारी गर्दै जित नजिक पुर्याए । जितका लागि एक रन आवश्यक रहेको अवस्थामा ३५ रन बनाएका कप्तान शनाका आउट भए पनि मेन्डिसले अविजित रहँदै ६९ रन जोडे । खेलको प्लेयर अफ द म्याच घोषित उनले ५८ बल खेल्दै पाँच चौका र एक छक्का प्रहार गरे ।

त्यस बाहेक चरिथ असलंकाले नौं बलमा २० तथा अर्का ओपनर पथुम निसंकाले १३ रनको योगदान दिए भने कामिल मिशारा र जनित लियनगेले क्रमश एक र आठ रन भन्दा जोड्न सकेनन् ।

अष्ट्रेलियाका केन रिचर्डसनले दुई विकेट हात पार्दा एस्टन अगरले पनि एक विकेट आफ्नो नाममा लेखाए ।

यस अघि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ६ विकेट गुमाएर १५४ रन भन्दा जोड्न सकेन ।

अष्ट्रेलियाको तर्फबाट सर्वाधिक रन बनाएका विकेट किपर ब्याटर म्याथ्यु वेडले २७ बलमा अविजित ४३ रनको योगदान दिए भने ग्लेन म्याक्सवेलले २९, जश इङ्ग्लिशले २३ तथा ड्यानियल साम्सले १८ रनको योगदान दिए ।

श्रीलंकाका लहिरु कुमारा र दुश्मन्था चमिराले समान २-२ विकेट हात पारे ।

Click to comment

Trending