Headline

ओमानको क्यानडामाथि फराकिलो जितसँगै नेपालको समुहमा सेमिफाइनल समिकरण रोचक

Published

on

कप्तान जिशान मक्सुद र ओपनर कश्यप प्रजापतिले उत्कृष्ट शतकीय साझेदारी गरेपछि ओमान क्यानडलाई ९ विकेटको बिशाल अन्तरले पराजित गर्दै आईसीसी ट्वान्टी ट्वान्टी बिश्वकप छनोट समुह बी मा सेमिफाइनल समिकरणलाई रोमाञ्चक बनाउन सफल भएको छ ।

पहिलो खेलमा नेपालबिरुद्ध १ सय १७ रनको लक्ष्य पछ्याउने क्रममा ७८ रनमै समेटिएको ओमानले शनिबार क्यानडाले राखेको १ सय ५६ रनको चुनौतिपूर्ण लक्ष्य दुई ओभर बाँकी रहेको स्थितिमै भेट्टाउन सफल रह्यो ।

अर्को खेलमा नेपाल फिलिपिन्सलाई १ सय ३६ रनको भारी अन्तरले पराजित गर्दै रनरेटको आधारमा शिर्ष स्थानमा उक्लन सफल भयो । नेपाल र क्यानडाको जितपछि समुहका तीन वटै टोलीको सेमिफाइनल सम्भावना कायमै रहेको छ ।

चार अंक रहेको नेपाल शिर्ष स्थानमा छ भने क्यानडा र ओमानको समना २ अंक रहेको छ । ४ दशमलव ३७५ रनरेट रहेको नेपालले आफ्नो अन्तिम खेलमा सोमबार क्यानडाको सामना गर्दैछ ।

नेपालले सेमिफाइनल प्रवेश गर्न सबैभन्दा सहज उपाय क्याडालाई हराउने नै हो भने नेपाल पराजित भएको खण्डमा नेट रनरेटले महत्वपूर्ण भुमिका खेल्नेछ । क्यानडाको २ दशमलव ५१२ रनरेट छ भने ओमानको माइनस शुन्य दशमलव ५६३ रहेको छ ।

प्रतियोगिताकै सबैभन्दा कमजोर टोलीको रुपमा देखिएको फिलिपिन्ससँग खेल्न बाँकी नै रहेको कारण ओमानको नेट रनरेट बढ्ने निश्चित नै छ ।

अल अमिरातको प्रमुख मैदानमा ओपनर जतिन्दर सिँह (७) लाई ३० रन हुँदा गुमाएपनि कप्तान मक्सुद र प्रजापतिले क्यानडालाई नमिठो हारको स्वाद चखाए । दुई ब्याट्स्म्यानले दोश्रो विकेटका लागि १ सय २९ रनको शान्दार साझेदारी गरेका थिए ।

मक्सुदले ४४ बलमा ७६ रन बनाउदा ६ चौका र पाँच छक्का हिर्काए । प्रजापतिले ५६ बलमा ७४ रन बनाए । उनको इनिङ्गसमा पाँच चौका र चार छक्का सामेल थियो ।

यसअघि पहिलो ब्याटिँग गरेको क्यानडालाई मिडल अर्डरले १ सय ५० रनको आंकडा पार गराएको थियो । रविन्दरपाल सिँहले ३६ बलमा ४६ रन बनाएका थिए । उनले तीन चौका र एक छक्का प्रहार गरे । ओपनर रायन पठानले २६, डिलो हेलिगर र हाम्जा तारिकले समान २१ तथा साद बिन जफरले २० रन जोडेका थिए ।

ओमानका लागि फैयाज बट्टले दुई विकेट लिए । म्यान अफ द म्याच मक्सुदले कसिलो बलिँग गर्दै २७ रन खर्चेर एक विकेट लिएका थिए ।

Click to comment

Trending