Headline

फिलिपिन्सबिरुद्ध बिशाल जितसँगै नेपाल समुहको शिर्ष स्थानमा

Published

on

फिलिपिन्सलाई १ सय ३६ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले आईसिसि ट्वान्टी ट्वान्टी बिश्वकप छनोटमा लगातार दोश्रो जित हात पारेको छ ।

मसक्याटको अल अमिरात क्रिकेट मैदानमा कुशल भुर्तेलले करिअरको पहिलो शतक प्रहार गर्नुका साथै दिपेन्द्र सिँह ऐरिसँग किर्तिमानी साझेदारी गरेपछि नेपालले मात्र तीन विकेटको क्षतिमा २ सय १८ रनको बिशाल योगफल खडा गर्यो । फिलिपिन्सले जवाफमा ८ विकेटको क्षतिमा मात्र ८२ रन बनायो ।

जितसँगै नेपाल अंक तालिकामा राम्रो नेट रनरेटसँगै अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । समान २ अंक रहेको क्यानडा दोश्रो र ओमान तेश्रो स्थानमा छ ।

फिलिपिन्सलाई सस्तैमा समेट्न नेपालका लागि कप्तान सन्दिप लामिछानेले कसिलो बलिँग गर्दै चार ओभरमा मात्र ९ रन खर्चदै तीन विकेट लिए । कमल सिँह ऐरिको स्थान लिएका गुल्शन झाले पहिलो ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय विकेट हात पार्दा, जितेन्द्र मुखिया, अविनाश बोहोरा, कुशल मल्ल र दिपेन्द्र सिँह ऐरिले पनि १–१ विकेट लिएका थिए ।

फिलिपन्सका लागि जोर्डन एलेग्राले ३२ बलमा २७ रन बनाए भने ड्यानियल स्मिथले २० रन बनाए । नेपालले खेल अझै फराकिलो अन्तरले जित्ने थिए तर अविनाशले अन्तिम ओभरमा १७ रन दिन पुगे ।

यसअघि दुई पुर्व कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लपछि ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने तेश्रो ब्याट्स्म्यान बनेका कुशलले गुरभुपिन्दर सिँहको बलमा सिँगल बटुल्दै ५७ बलमा कोशेढुँगा पुरा गरेका थिए ।

कुशलले ८३ रन बनाएका दिपेन्द्र सिँह ऐरिसँग तेश्रो विकेटका लागि १ सय ६१ रनको बिशाल साझेदारी गरेका थिए । यो नेपालको लागि कुनै पनि विकेटका लागि अहिलेसम्मकै ठूलो साझेदारी हो ।

यस अघिको सबैभन्दा ठूलो साझेदारी पारस र आरिफबीच दोश्रो विकेटका लागि रहेको थियो । पारस र आरिफले सिँगापुरबिरुद्ध ट्राइ नेसन सिरिजमा १ सय ४५ रन जोडेका थिए । त्यही खेलमा पारसले ४९ बलमै शतक प्रहार गरेका थिए ।

अर्को शतक ज्ञानेन्द्रले २०१९ डिसेम्बरमा भुटानबिरुद्ध दक्षिण एसियाली खेलकुदका दौरान प्रहार गरेका थिए । नटआउट रहेका कुशलले ६१ बलमा १३ चौका र एक छक्काको मद्दतमा १ सय ४ रन बनाए ।

दिपेन्द्रले ४७ बलमा ६ चौका र चार छक्काको मद्दतमा ८३ रन बनाए । नेपालले अन्तिम १० ओभरमा १ सय २९ रन जोडेको थियो । ड्यानियल स्मिथले अन्तिम ओभरमा मात्र चार रन खर्चेका थिए ।

Click to comment

Trending