Headline

कुशलको शतक र किर्तिमानी साझेदारीसँगै नेपालले बनायो २ सय १८ रन

Published

on

कुशल भुर्तेलले पहिलो ट्वान्टी ट्वान्टी शतक प्रहार गर्र्दै दिपेन्द्र सिँह ऐरिसँग नेपालको लागि कुनै पनि विकेटका लागि किर्तिमानी साझेदारी गरेपछि नेपालले ट्वान्टी ट्वान्टी बिश्वकप छनोट अन्तर्गत आफ्नो दोश्रो खेलमा फिलिपिन्सबिरुद्ध २ सय १८ रनको बिशाल योगफल खडा गरेको छ ।

दुई पुर्व कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लपछि ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने तेश्रो ब्याट्स्म्यान बनेका कुशलले गुरभुपिन्दर सिँहको बलमा सिँगल बटुल्दै ५७ बलमा शतक प्रहार गरेका थिए ।

कुशलले ८३ रन बनाएका दिपेन्द्र सिँह ऐरिसँग तेश्रो विकेटका लागि १ सय ७१ रनको बिशाल साझेदारी गरेका थिए । यो नेपालको लागि कुनै पनि विकेटका लागि अहिलेसम्मकै ठूलो साझेदारी हो ।

यस अघिको सबैभन्दा ठूलो साझेदारी पारस र आरिफबीच दोश्रो विकेटका लागि रहेको थियो । पारस र आरिफले सिँगापुरबिरुद्ध ट्राइ नेसन सिरिजमा १ सय ४५ रन जोडेका थिए । त्यही खेलमा पारसले ४९ बलमै शतक प्रहार गरेका थिए ।

अर्को शतक ज्ञानेन्द्रले २०१९ डिसेम्बरमा भुटानबिरुद्ध दक्षिण एसियाली खेलकुदका दौरान प्रहार गरेका थिए । नटआउट रहेका कुशलले ६१ बलमा १३ चौका र एक छक्काको मद्दतमा १ सय ४ रन बनाए ।
दिपेन्द्रले ४७ बलमा ६ चौका र चार छक्काको मद्दतमा ८३ रन बनाए ।

कुशलले ३२ बलमै अद्र्धशतक पुरा गरेका थिए । सिँहले टाउको माथी फालेको नोबलमा विकेटकिपर पछाडीबाट चौका प्रहार गर्दै कुशलले अद्र्धशतक पुरा गरे । उनले आफ्नो आठौं ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलिरहेका छन् ।

उनको पहिलो चार अद्र्धशतक नेपालमै गत अप्रिलमा भएको त्रिदेशीय ट्वान्टी ट्वान्टी श्रृंखलाका दौरान रहेको थियो । फिलिपिन्सले खेलमा राम्रो शुरुवात गर्दै आसिफ शेख (डक) र कुशल मल्ल (१२) लाई पेभिलियन फर्काएपनि नेपाललाई कुशल र दिपेन्द्र सिँह ऐरिले राम्रो योगफलको आधार बनाए ।

नेपालले अन्तिम १० ओभरमा १ सय २९ रन जोडेको थियो । ड्यानियल स्मिथले अन्तिम ओभरमा मात्र चार रन खर्चेका थिए ।

Click to comment

Trending