Headline

दोश्रो स्थानको दावेदारीमा फेरि चुक्यो थ्रि स्टार

Published

on

नेपाल पुलिस क्लबसँग बराबरीमा रोक्किएपछि शहीद स्मारक ए डिभिजन लिगमा कम्तिमा पनि दोश्रो स्थानको लागि चुनौति दिने अवसर रहेको थ्रि स्टार क्लबलाई झड्का लागेको छ ।

दशरथ रँगशालामा बुधबार भएको दोश्रो तथा दिनको तेश्रो खेलमा थ्रि स्टारलाई पुलिसले १–१ गोलको बराबरी रोक्यो । रितिक कुमार खड्काले लिगमा आफ्नो तेश्रो गोल गर्दै पहिलो हाफमा दिएको अग्रतालाई सुमन सुबेदीले दोश्रो हाफमा क्यान्सल गरेका थिए ।

खेलमा त्यसपछि दुवै टोलीले केही राम्रा मुभहरु बनाएपनि गोल गर्ने उल्लेखनीय अवसर श्रृजना गर्न सकेनन् । यसअघिको खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबसँग स्तब्ध पुलिसका लागि बुधबारको बराबरीले केही राहत भने मिलेको छ ।

रेलिगेसन खतरा अझै पनि नटरेको पुलिस अंक तालिकामा ११ औं स्थानमा रहेको छ । अर्को बिभागीय टोली नेपाल एपिएफ क्लबसँगै समान ११ अंक रहेको पुलिस गोल अन्तरको आधारमा पछाडी छ । जावालाखेल युथ क्लबको १० अंक छ भने फ्रेण्ड्स र रेलिगेसन जोनमा रहेको ब्रिगेड बोइज क्लबको समान ७ अंक छ ।

थ्रि स्टारले भने दोश्रो स्थानको मनाङ मस्र्याङ्गदी क्लबसँग बराबरी गर्ने अवसर गुमाउन पुग्यो । मनाङको २० अंक रहेको छ । बुधबारकै खेलमा हिमालयन शेर्पा क्लबसँग तेश्रो स्थानमा रहेको आर्मी बराबरीमा रोक्किएपछि थ्रि स्टारलाई दोश्रो स्थानको दावेदारीका लागि राम्रो अवसर रहेको थियो ।

तर बराबरीपछि थ्रि स्टार १८ अंक सहित चौथो स्थानमै रहन पुग्यो भने आर्मीको १९ अंक छ । अर्को चरणको खेलमा थ्रि स्टारले बुधबार नै च्याम्पियन बनेको मच्छिन्द्र फुटबल क्लबबिरुद्ध खेल्नेछ ।

कर्नरबाट आएको बल क्लियर हुन नसक्दा आफ्नै डिफेन्डरले सिक्स यार्ड बक्स नजिक बल पुर्याउदा पुलिसका गोलकिपर शत्रुघन चौधरीले बललाई पञ्च गरेका थिए । सन्जोग राइले त्यसपछि हेडर हान्ने प्रयासमा बल आफूतिर आएपछि रितकले फस्ट टाइम भलिमा गोल गरे ।

पुलिसले ५१ औं मिनेटमा बराबरी गोल फर्कायो । तेज तामाङको फ्रि किकमा सुमन सुबेदीले हेडरमार्फत गोल गर्दै पुलिसलाई खेलमा फर्काएका थिए ।

Click to comment

Trending