Headline

महँगा ऐयर नै कोलकाता नाइट राइडर्सका कप्तान

Published

on

श्रेयस ऐयरमाथि सवा १२ करोड बर्षा गर्दै टिममा भित्र्याएको कोलकाता नाइट राइडर्सले भारतीय मिडल अर्डर ब्याट्स्म्यानलाई यो सिजनको इण्डिय प्रिमियर लिगको लागि कप्तान नै नियुक्त गरेको छ ।

अपेक्षा गरे अनुसार नै बैँगलोरमा भएको आईपिएल अक्सनमा उनको लागि बिडिँग वार हुँदा कोलाकाताले ऐयरको पूर्व टोली दिल्ली क्यापिटल्सलाई पछि पार्दै टिममा ल्याउन सफल भएको थियो । ऐयर दिल्लीको पनि कप्तान नै रहेका थिए ।

गत सिजन काँधको चोटका कारण शुरुवाती चरण गुमाएका ऐयरले रिसभ पन्तलाई कप्तानी सुम्पेका थिए । ऐयर फर्किएपनि पन्तले नै पुरै सिजन दिल्लीको नेतृत्व हातमा लिएका थिए ।

कोलकाताका मुख्य प्रशिक्षक तथा पुर्व न्युजिल्याण्ड ओपनर ब्रेण्डन म्याक्कुलमले ऐयर भारतको भावी कप्तान रहेको बताउदै यो निर्णयले आफू निकै खुशी भएको बताए । “मैले सँगै नरहेपनि उनको कप्तानी र खेललाई राम्रोसँग नियाल्दै आइरहेको थिए । मलाई लाग्छ उनी कोलकाताको कप्तानको रुपमा निकै उपयुक्त उम्मेदवार थिए,” म्याक्कुलमले भने ।

गत सिजनको कोलकाताको नेतृत्व इंगल्याण्डका एकदिवसीय कप्तान ओइन मोर्गनको हातमा रहेको थियो । तर यो सिजन मोर्गन अक्सनमा नै अनसोल्ड हुन पुगे ।

२०२१ सिजनमा मोर्गनले निकै संघर्षपछि मुम्बई इण्डियन्सलाई रनरेटमा पछि पार्दै आईपिएलको प्लेअफसम्म डोर्याएका थिए । तर एलिमिनेटर खेलमा रोयल च्यालेन्जर्स बैँगलोर र दोश्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई हराउदै कोलकाता फाइनलसम्म पुग्न सफल भएको थियो ।

फाइनलमा चेन्नई सुपर किंग्ससँग २७ रनले हारेपछि कोलकाता तेश्रो पटक आइपिएलको उपाधि जित्न असफल भएको थियो ।

Click to comment

Trending