Headline

मच्छिन्द्र लगातार दोश्रो पटक ए डिभिजन लिग च्याम्पियन

Published

on

सातदोबाटो युथ क्लबलाई पराजित गर्दै मच्छिन्द्र फुटबल क्लब दुई खेल बाँकी हुदै लगातार दोश्रो पटक शहीद स्मारक ए डिभिजन लिगको उपाधि जितेको छ ।

दशरथ रँगशालामा नुर्लान नोभ्रुजोभले निर्णायक गोल गरेपछि मच्छिन्द्रले २०७६–७७ सिजनपछि लगातार दोश्रो पटक उपाधि जितेको हो । शिर्ष स्थानमा रहेको मच्छिन्द्रको ११ खेलबाट २९ अंक रहेको छ भने दोश्रो स्थानको मनाङ मस्र्याङ्गदी क्लबको २० अंक छ ।

मनाङको तीन खेल बाँकी रहेपनि उसले मच्छिन्द्रलाई भेट्न सक्ने छैन । तेश्रो स्थानमा रहेको त्रिुभवन आर्मी क्लबको भने ११ खेलबाट १९ अंक भएको छ । आर्मीले बुधबार नै भएको खेलमा हिमालयन शेर्पा क्लबसँग १–१ गोलको बराबरी खेल्यो ।

पहिलो हाफ गोलरहित बराबरीमा सक्किएपछि नुर्लानले ५३ औं मिनेटमा गोल गरेका थिए । मच्छिन्द्रले दवाब बनाउदै गर्दा सुनिलले प्रहार गरेको कर्नर क्लियर हुन सकेन । सुनिलले नै बायाँ तर्फ बल नियन्त्रणमा निकालेको हाइ बलमा देवेन्द्र तामाङको हेडरलाई सातदोबाटो गोलकिपर अभिषेक बरालले बचाए पनि बारमा लागेर फर्किएको रिबाउण्डमा नुर्लानले गोललाइन नजिकैबाट गोल गरेका थिए ।

गोल लगत्तै नुर्लान तथा मच्छिन्द्रले गोल चोटले बाहिरिएका स्ट्राइकर मनिष डाँगीलाई समर्पित गरेका थिए । पछिल्लो खेलमा च्यासल युथ क्लबलाई २–० ले हराएको खेलमा मनिषले केचा यानिकसँग हेडरको लागि संघर्ष गर्दा टाउकोमा चोट बोकेका थिए ।

नवप्रवेशी सातदोबाटो भने १५ अंक सहित छैटौं स्थानमा कायमै रहेको छ । शेर्पा पनि १३ अंकका साथ आठौं स्थानमा रहेको छ ।

Click to comment

Trending