Headline

विश्वकप छनोटका लागि नेपाली टोली सार्वजनिक, कुशल, प्रदिप र शाहब अन्तिम १४ मा पर्न असफल  

Published

on

शुक्रबारबाट सुरु हुने ट्वान्टी ट्वान्टी विश्वकप छनोटको लागि नेपाली राष्ट्रिय टोलीले आफ्नो अन्तिम १४ को नाम सार्वजनिक गरेको छ ।

आज सार्वजनिक भएको टोलीको अन्तिम १४ मा बायाँ हाते स्पिनर शाहब आलम, अलराउण्डर कुशल मल्ल र विकेट किपर ब्याटर प्रदिप ऐरी अटाउन असफल रहे । त्यस्तै खराब फर्मबाट गुज्रिरहेका शरद भेषावाकर र ज्ञानेन्द्र मल्लले  पनि अन्तिम १४ मा स्थान बनाउन सफल भएका छन् ।

हाल ओमानमा रहेको टोलीमा ब्याकअप खेलाडीको रुपमा जोडिन गएका बायाँ हाते स्पिनर सागर ढकाल भने अन्तिम १४ मा स्थान बनाउन सफल भएका छन् । उनले चार देशीय ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय श्रृंखला अन्तर्गत ओमानबिरुद्ध पहिलो खेल खेलेका थिए । सागरले भने पहिलो खेलमा तीन ओभरमा ३५ रन बनाए पनि टिममा स्थान बनाउन सफल भएका हुन् ।

त्यस बाहेक युवा खेलाडीहरु लोकेश बम र विवेक यादवका साथै तीब्र गतिका बलर गुलशन झाले पनि विश्वकप छनोटका लागि टोलीमा स्थान बनाएका छन् । नेपाली टोलीसँग ओमानमा नभए पनि घाइते करण केसीको स्थानमा गुलशन सिधै अन्तिम १४ मा स्थान सुरक्षित गरेका हुन् ।  

ओमानमा आयोजना भएको चार देशीय शृंखलाका लागि १७ सदस्यीय टोली आएको भए पनि विश्वकप छनोटको लागि १४ जनाको मात्र नाम सार्वजनिक गरिएको हो ।   

हालै सम्पन्न ओमान चार देशीय शृंखला अन्तर्गत तीन खेल खेल्दा नेपालले आयोजक ओमान माथि ६ विकेटको सानदार जित दर्ता गराए पनि त्यस पछिका खेलमा क्रमश युएई र आयरल्याण्डसंग २५ र १६ रनको हारको सामना गरेको थियो । टेस्ट राष्ट्र आयरल्याण्डलाई १२७ रनमा रोके पनि नेपाल ऐतिहासिक जित निकाल्नबाट चुकेको थियो ।   

विश्वकप छनोटमा नेपालको खेल तालिका  – 

फागुन ६              नेपाल विरुद्ध ओमान                  

फागुन ७              नेपाल विरुद्ध  फिलिपिन्स                   

फागुन ९              नेपाल विरुद्ध क्यानडा           

नेपाली टोली : सन्दिप लामिछाने (कप्तान), आसिफ शेख, आरिफ शेख, कुशल भुर्तेल, शरद भेषावाकर, ज्ञानेन्द्र मल्ल, कमल सिंह ऐरी, दिपेन्द्र सिंह ऐरी, अविनाश बोहरा, जितेन्द्र मुखिया, लोकेश बम, विवेक यादव, सागर ढकाल, गुलशन झा 


 

 

Click to comment

Trending