Headline

यदि तपाई रन बनाउन सक्नु हुन्न भने ‘क्लास’ ले कुनै अर्थ राख्दैन: दासानायके (भिडियो)

Published

on

आयरल्याण्डसँग जित्ने अवस्थाबाट पराजित भएपछि नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक पुबुदु दासानायके निराश थिए । तर हारले होइन । दासानायकेले नेपालका उत्कृष्ट ब्याट्स्म्यानहरुबाट रन नआइरहेकोमा चिन्ता थियो ।

सोमबार आयरल्याण्डलाई बलरहरुको उत्कृष्ट प्रदर्शनबाट १ सय २७ रनको सामान्य स्कोरमै रोक्न सकेपनि नेपाल ९ विकेटको क्षतिमा १ सय ११ रनमै रोक्कियो । टेस्ट राष्ट्र आयरल्याण्डबिरुद्ध एक पटक फेरि नेपाल ऐतिहासिक जितबाट निकै नजिक रहेर चुक्न पुग्यो ।

हारपछि दासानायकेले कसैको नाम नलिए पनि नेपालको लागि उत्कृष्ट ब्याट्म्यानको रुपमा दरिएका खेलाडीहरु प्रदर्शन दिन नसकेकोमा निराशा पोखे ।

“नेपाली टोलीका तीन चार जना ब्याट्स्म्यानहरु यस्ता छन् जो आरामले यो प्रतियोगिता र क्वालिफायरका उत्कृष्ट १० मध्ये पर्दछन् । तर उनीहरुले रन बनाउन आवश्यक छ । यदि तपाईले रन बनाउनु हुदैन भने तपाईको क्लासको कुनै मतलब हुँदैन,” दासानायकेले भने ।

“म ती ब्याट्स्म्यानहरुलाई स्मार्ट हुन सुझाव दिनेछु र पाएको शुरुवातलाई ठूलो योगफलमा बदल्न पनि भन्नेछु । अबको केही दिन मेरो फोकस भनेको नै यही हो,” दासानायकेले थपे ।

नेपाली टोली लगभग युवा खेलाडीहरुले भरिपूर्ण हुँदा टोलीमा दुई सिनियर ब्याट्स्म्यानहरुको रुपमा पुर्व कप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषावकर रहेका छन् । कुशल भुर्तेल र आसिफ शेख राम्रै टचमा देखिदै गर्दा अर्का सिनियर खेलाडी तथा ओपनर प्रदिप ऐरिको खेल्ने सम्भावना कम रहेको छ ।

त्यसपछि सिनियर खेलाडी आरिफ शेख छन् । ज्ञानेन्द्रले युएईबिरुद्ध १ सय ९३ रनको लक्ष्य पछ्याउदै गर्दा आसिफ शेखसँग अद्र्धशतकीय साझेदारी गरेपनि उनी २२ रनमै पेभिलियन फर्किएका थिए । उनले तीन खेलमा ४० रन बनाएका छन् । तीन वटै खेलमा ज्ञानेन्द्रलाई राम्रो अवसर रहेको थियो ।

आरिफले पहिलो दुई खेलमा शुरुवात पाएपनि त्यसलाई ठूलो योगफलमा परिणत गर्न सकेनन् भने आयरल्याण्डबिरुद्ध मौका पाएनन् ।

ओमानबिरुद्धको पहिलो खेलमा क्रिजमा उत्रदा जितका लागि २९ रनको आवश्यकता रहदा क्रिजमा उत्रिएपनि सबै काम सेट ब्याट्स्म्यान दिपेन्द्र सिँह ऐरिले गर्दा शरद चार रनमा नटआउटर रहेका थिए । युएईबिरुद्ध ८ बलमा १० रन बनाएका शरद आयरल्याण्ड २२ बर्षिय मिडिय पेसर कर्टिस क्याम्फरको भित्र आउदै गरेको बलमा अवाक रहे । उनी एक रनमै आउट भए ।

चारदेशीय ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय श्रृंखला एक हिसाबले रिहर्सल रहेको र अब क्वालिफायर नेपालको लागि सबैभन्दा महत्वपूर्ण प्रतियोगिता रहनेछ । नेपाली टोलीमा क्लासले धेरैको आखाँलाई आनन्द दिदै आएका सिनियर खेलाडीबाट नै अब दासनायकेले सबैभन्दा बढी अपेक्षा गर्ने छन् ।

Click to comment

Trending