Headline

एपिएफसँग बराबरीपछि संकटाले थ्रि स्टारसँग अंक बराबर गर्ने मौका गुमायो

Published

on

नेपाल एपिएफ क्लबसँग बराबरी रोक्किएपछि संकटा क्लब शहीद स्मारक ए डिभिजन लिगको पाचौं स्थानमा उक्लिएको छ ।

दिनको दोश्रो खेलमा संकटा र एपिएफले गोलरहित बराबरी खेले । जित हात पार्दै चौथो स्थानमा रहेको थ्रि स्टार क्लबसँग अंक बराबरी गर्ने मौका गुमाएको संकटा सातदोबाटो युथ क्लबलाई धकेल्दै पाचौं स्थानमा उक्लिएको हो ।

सातदोबाटोसँगै समान १५ अंक रहेको संकटा गोल अन्तरको आधारमा अगाडी रहेको हो । थ्रि स्टारको १७ अंक छ भने त्रिुभवन आर्मी क्लब १८ अंक सहित तेश्रो स्थानमा रहेको छ ।

शिर्ष स्थानमा रहेको मच्छिन्द्र फुटबल क्लबको २६ र दोश्रोमा रहेको मनाङ मस्र्याङ्गदी क्लबको २० अंक छ । एपिएफ भने ११ अंक सहित नवौं स्थानमै कायम रह्यो ।

दशरथ रँगशालामा पहिलो हाफमा दुवै टोलीबाट उल्लेखनीय अवसर सृजना नहुँदा दोश्रो हाफ प्रतिस्पर्धात्मक रहेको थियो । ६८ औं मिनेटमा एपिएफका जापानी गोलकिपर युया कुरियामाले टिमलाई निश्चित गोल खानबाट जोगाए ।

ग्लोरीको राम्रो क्रसमा उत्तम राइको उत्तिकै राम्रो हेडरलाई कुरियामाले उत्कृष्ट ढँगले बचाउ गरेका थिए । तीन मिनेटपछि नै नविन लामाले सृजना गरेको अवसर खेर गयो ।

राम्रो टिम मुभमा नविनले निकालेको बल पाएका आभाष लामिछानेसँग पर्याप्त समय र स्पेस रहेपनि पास निकाल्नुको साटो योजना बिनै फराकिलो प्रहार गरिदिएका थिए । दुई मिनेटमै आभाषले सिक्स यार्ड बक्समा अनमार्क रहेका आशिष लामालाई दिनुका साटो प्रहार गर्दा संकटा गोलकिपर राजा बाबु थापाले बचाएका थिए ।

निर्धारित समय सकिन १० मिनेट बाँकी हुँदा संकटा गोल गर्ने सुनौलो अवसरमा चुक्यो । लक्ष्मण रुचालको कर्नरमा रवि सिल्वालले बक्स भित्रबाट निकालेको हेडर पासमा सिक्स यार्ड बक्स अगाडी राम्रो पोजिसनमा रहेका फोडे फोफानाले निकै कमजोर भली प्रहार गरेका थिए ।

Click to comment

Trending