Headline

बिश्वकप छनोट अघिको उत्कृष्ट लय कायम राख्दै युएईले आयरल्याण्डलाई हरायो

Published

on

आफ्नो उत्कृष्ट फर्मलाई कायमै राख्दै युएईले चारदेशीय ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय श्रृंखलामा आयरल्याण्डलाई १३ रनले पराजित गरेको । दुवै टोली फेब्रुवरी १८ देखि युएईमै शुरु हुने ट्वान्टी ट्वान्टी बिश्वकप छनोटमा एकै समुहमा रहेका छन् ।

जारी श्रृंखलामा भने युएईले लगातार दोश्रो जित हात पारेको हो । शनिबारको खेलमा युएईले नेपाललाई २५ रनले हराएको थियो । अर्को खेलमा ओमानलाई हराउने हो भने उ यो श्रृंखलाको च्याम्पियन बन्ने छ । ओमान आफ्नो पहिलो दुवै खेलमा नेपाल र आयरल्याण्डसँग पराजित भइसकेको छ ।

भ्रित्या अरविन्द र रोहन मुस्तफाले अद्र्धशतक बनाएपछि युएईले पहिलो ब्याटिँग गर्दै २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७८ रन बनायो । जवाफमा आयरल्याण्ड २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६५ रनमै रोक्कियो ।

नेपालबिरुद्ध जस्तै अन्तिम पाँच ओभरमा उत्कृष्ट बलिँग गरेको युएईका लागि कार्तिका मेयाप्पनले २ विकेट लिए भने जहुर खान र मुस्तफाले १–१ विकेट लिएका थिए ।

पहिलो ओभरमै आक्रमक ओपनर पल स्टर्लिङ्गलाई गुमाएपछि एन्डी बालबर्नी र ग्यारेथ डेलनीले ६४ रनको आक्रमक साझेदारी गर्दै आयरल्याण्डलाई फ्रन्ट फुटमा राखेका थिए । डेलनीले २० बलमा पाँच चौका र दुई छक्काको सहयोगमा ४० रन बनाए ।

बालबर्नी २७ बलमा ४२ रन बनाउदै मेयाप्पनको बलमा आउट भएपछि आयरल्याण्ड खेलमा फर्कन असफल रह्यो । शनिबार ओमानबिरुद्ध ४९ बलमा ७५ रन बनाएका बालबर्नीले तीन छक्का र दुई चौका प्रहार गरे ।

कर्टिस क्याम्फरले ४० रन बनाएपनि ३९ बलको सामना गरेका उनको इनिङ्गसले आयरल्याण्डलाई उठाउन सकेन । लोर्कान टकरले १६ बलमा २२ रन बनाएका थिए ।

यसअघि २९ रनमा दुई विकेट गुमाएको युएईलाई मुस्तफा र अरविन्दले ९७ रनको साझेदारी गर्दै सम्हालेका थिए । युएईले पाचौं विकेटका रुपमा मुस्तफालाई गुमाउदा उसले १८ ओभरमा १ सय ४७ रन मात्रै बनाएको थियो । तर कासिफ दाउदले ११ बलमै २८ रन ठोक्दै युएईलाई बिशाल योगफलतर्फ धकेलेका थिए ।

दाउदले तीन छक्का र दुई चौका प्रहार गरे । मुस्तफाले ४३ बलमा ५४ रन बनाए भने अरविन्दले ३६ बलमा ५० रन बनाएका थिए । आयरल्याण्डका लागि क्रेग यँगले चार विकेट लिए ।

Click to comment

Trending