Headline

युएई विरुद्ध नेपाल पहिले बलिङ गर्दै, आज तीन परिवर्तन 

Published

on

ओमानमा जारी चार देशीय ट्वान्टी ट्वान्टी प्रतियोगिता अन्तर्गत आफ्नो दोश्रो खेलमा नेपालले युएई विरुद्ध पहिले बलिङ गर्ने भएको छ । नेपालका कप्तान सन्दिप लामिछानेले टस जितेर युएईलाई ब्याटिङ गर्न लगाएका हुन् ।

आजको खेलमा नेपालले तीन परिवर्तन गरेको छ । आक्रामक ब्याट्सम्यान लोकेश बमले नेपालको लागि ट्वान्टी ट्वान्टीमा डेब्यु गर्दा तिब्र गतिका बलर जितेन्द्र मुखियाले सात वर्ष पछि ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा फर्किएका छन् । त्यस बाहेक आजको खेलमा शाहब आलमले पनि सुरुवाती ११ मा स्थान बनाउँदा सागर ढकाल बेञ्चमा छन् । त्यस्तै आजको खेलमा ओपनर प्रदिप ऐरी र अविनाश बोहरालाई पनि बिश्राम दिइएको छ ।     

शृंखला अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले हिजो आयोजक ओमान माथि ६ विकेटको रोमान्चक जित हात पार्न सफल भएको थियो । अविनाश बोहराले तीन तथा कमल सिंह ऐरी, आरिफ शेख र कप्तान सन्दिप लामिछानेले समान १-१ विकेट हात पार्दा नेपालले ओमानलाई मात्र १३५ रनमा रोक्न सफल भयो । चौथो नम्बरमा ब्याटिङ गर्न आएका दिपेन्द्रले ५३ बलको सामना गर्दै आठ चौका र एक छक्का प्रहार गर्दै अविजित ७३ रन बनाए ।

नेपालको सुरुवाती ११ : सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, दिपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावाकर, आरिफ शेख, विवेक यादव, कमलसिंह ऐरी, जितेन्द्र मुखिया, लोकेश बम, शाहब आलम  

 

Click to comment

Trending