Headline

सुमनको अन्तिम मिनेटको गोलले आर्मी अनपेक्षित हारबाट जोगियो

Published

on

सुमन अर्यालले इन्जुरी समयको अन्तिम मिनेटमा गोल गरेपछि त्रिभुवन आर्मी क्लब शहीद स्मारक ए डिभिजन लिगमा अनपेक्षित हारबाट जोगिएको छ ।

दशरथ रँगशालामा शुक्रबार भएको दोश्रो खेलमा आर्मीले जावलाखेल युथ क्लबलाई १–१ को बराबरीमा रोक्न सफल भयो ।

जावलाखेल अनपेक्षित जितको निकै नजिक पुग्दा सुमनले ९७ औं मिनेटमा गोल गर्दै आर्मीलाई जोगाएका थिए । पहिलो हाफ गोलरहित बराबरी टुँगिएपछि जावलाखेलका लागि केन्यन स्ट्राइकर ओनगुना जुनियरले गोल गरेका थिए ।

५३ औं मिनेटमा जुनियरले बक्समा राम्रो ड्रिब्लिँगका साथ तीन आर्मी डिफेन्डरहरुलाई छक्याउदै गोल गरेका थिए । पहिलो हाफमा आर्मी गोलकिपर बिकेश कुथुले जुनियरको दुई राम्रो प्रहारलाई रोकेका थिए ।

जगजित श्रेष्ठले निकालेको उत्कृष्ट क्रसमा सुमनले बक्स भित्रबाट गोल गर्दै जावलाखेललाई स्तब्ध बनाएका थिए ।

१० खेलपछि १९ अंक रहेको आर्मी तेश्रो स्थानमै कायम रहेको छ । चौथोमा रहेको थ्रि स्टारको ९ खेलबाट १६ अंक छ भने संकटा क्लबको १४ अंक छ ।

मच्छिन्द्र फुटबल क्लब २३ अंकका साथ शिर्ष स्थानमा कायमै रहेको छ भने मनाङ मस्र्याङ्गदी क्लबको १९ अंक छ । ९ अंक सहित ११ औं स्थानमा रहेको जावालाखेललाई अझै पनि रेलिगेसनको खतरा टरेको छैन ।

Click to comment

Trending