Headline

सन्दिप बने ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालको पहिलो बलिँग कप्तान

Published

on

लेग स्पिनर सन्दिप लामिछाने ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा नेपालको लागि कप्तानी गर्ने पहिलो बलर बनेका छन् । 

घरेलु टोली ओमान विरुद्धको पहिलो ट्वान्टी ट्वान्टी खेलमा कप्तानी सम्हालेका सन्दिप पारस खड्का र ज्ञानेन्द्र मल्ल पछि नेपालको तेश्रो ट्वान्टी ट्वान्टी कप्तान हुन् । त्यस्तै सन्दिप १३ वर्ष पछि नेपालको कप्तानी गर्ने पहिलो बलर पनि हुन् । यस अघि सन् २००९ मा क्यानले पारसलाई तीब्र गतिका बलर बिनोद दासको स्थानमा कप्तान नियुक्त गरेको थियो । 

नेपाल क्रिकेट संघ (क्यान) ले गत डिसेम्बर ज्ञानेन्द्रलाई बर्खास्त गर्दै सन्दिपलाई नेपाली टोलीको कप्तान नियुक्त गरेको थियो । 

यसै बीच आजको खेलमा कप्तानीमा डेब्यु गरेका २१ वर्षीय सन्दिप ट्वान्टी ट्वान्टीमा नेपाली टोलीको नेतृत्व गर्ने कान्छा कप्तान पनि हुन् । यस अघि पारसले २६ वर्ष तथा ज्ञानेन्द्रले २९ वर्षको उमेरमा नेपालको कप्तानी गरेका थिए । त्यस्तै उनी समग्रामा ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्री खेलमा कप्तानी गर्ने विश्वको आठौँ कान्छा खेलाडी पनि बन्न सफल भएका छन् । 

नेपालको लागि २६ ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका सन्दिपले ४७ विकेट आफ्नो नाममा लेखाइ सकेका छन् । आज हुने खेलमा उनले तीन विकेट हात पार्न सकेको खण्डमा नेपालको लागि ५० विकेटको कोसेढुंगा पूरा गर्ने पहिलो बलर बन्नुको साथै थोरै खेलमा ५० विकेट पुरा गर्ने खेलाडीको सूचीको दोश्रो स्थानमा उक्लने छन् । 

ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा सबैभन्दा कम खेलमा ५० विकेट पुरा गर्ने किर्तिमान श्रीलंकाका अजन्था मेन्डिसको नाममा रहेको छ भने दोश्रो स्थानमा आयरल्याण्डका मार्क अडेर रहेका छन् । मेन्डिसले २६ खेलमा ५० विकेट हात पार्दा ५० विकेट लिनका लागि अडेरले २८ खेल खेलेका थिए । सन्दिपले तीन विकेट लिन सफल भएमा उनले २७ खेलमा आफ्नो ५० औँ विकेट पुरा गर्दै थोरै खेलमा ५० विकेट लिने बलरको सुचीमा अडेरलाई पछि पार्दै दोश्रो स्थानमा पुग्नेछन् ।

Click to comment

Trending