Headline

रविको दुई गोलमा पुलिसको च्यासलमाथि महत्वपूर्ण जित

Published

on

रवि पासवानले दुई गोल गरेपछि नेपाल पुलिस क्लब च्यासल युथ क्लबलाई हराउदै शहीद स्मारक ए डिभिजन लिगको अंक तालिकामा १० औं स्थानमा उक्लिएको छ ।

लिग पुन सुचारु हुँदा दशरथ रँगशालामा दुई टोलीले यसअघि स्थागित भएको नवौं चरणको खेल खेलेका हुन् । च्यासलको टोलीमा कोरोना भाइरस फैलिएपछि एन्फाले खेललाई स्थगित गरेको थियो । पुलिस २–१ ले बिजयी बन्दै रेलिगेसनबाट जोगिन निर्णायक बन्न सक्ने जित हात पारेको हो ।

अर्को बिभागीय टोली नेपाल एपिएफसँगै समान १० अंक रहेको पुलिस कम गोल गरेको आधारमा पछाडी रहेको छ । दुई टिमबीचको गोल अन्तरपनि समान रहेको छ । एपिएफले ११ गोल गरेको छ भने रेलिगेसन जोनबाट पाँच अंकको दुरिमा रहेको पुलिसले ७ गोल गरेको छ ।

च्यासलमा भने रेलिगेसनको संकट थप गहिरिएको छ । १३ औं स्थानमा रहेको च्यासलको मात्र पाँच अंक छ र पुछारको टोली फ्रेण्ड्स क्लबको तीन अंक छ । ब्रिगेड बोइजको ६ र जावलाखेल युथ क्लबको ८ अंक छ ।

बुधबारको प्रतिस्पर्धात्मक खेलमा रविले ३७ औं मिनेटमा पुलिसलाई अग्रता दिलाएका थिए । र यसमा रवि भाग्यमानी साबित भए । नीर कुमार राईको पास पेनाल्टी बक्स भित्र पाएका रविले क्रस गर्न खोज्दा बलले सिधै जाली चुमेको थियो ।

दोश्रो हाफ शुरु भएको आठ मिनेटमै च्यासलले बराबरी गर्यो । पुलिस कप्तान सुमन सुबेदीले रुमेश बर्तौलालाई लडाएपछि प्राप्त पेनाल्टीमा च्यासलका बिदेशी खेलाडी मौसा अबगानाले गोल गरेका थिए ।

रविले ७० औं मिनेटमा सुमन लामाको पासमा पेनाल्टी एरियाबाट गोल गर्दै पुलिसको जितलाई सुनिश्चित पारेका थिए । यस बाहेक दुवै टोलीले खेलमा गोल गर्ने अन्य केही मौकाहरु गुमाएका थिए ।

Click to comment

Trending