Headline

ओमान आइपुगे धम्मिका प्रसाद 

Published

on

आईसीसी ट्वान्टी ट्वान्टी बिश्वकप छनोटका लागि नेपालको बलिँग कन्सल्टेन्ट नियुक्त भएका श्रीलंकाका पूर्व तिब्र गतिका बलर धम्मिका प्रसाद ओमान पुगेका छन् ।

नेपाल क्रिकेट संघले उनलाई ओमानमा हुने चार देशीय ट्वान्टी ट्वान्टी श्रृंखला र बिश्वकप छनोटका लागि भित्र्याएको हो । यस अघि उनी नेपाल आउने क्यानले जनाएको भए पनि उनी सिधै ओमान आइपुगेका हुन् । नेपाली टोलीका व्यवस्थापक सुमन राज कार्कीले धम्मिका ओमान आइपुगेको बताएका छन् ।

प्रशिक्षक पुबुदु दासानायकेले नेपाललाई बलिँग प्रशिक्षकको आवश्यकता देखेपछि धम्मिकालाई झिकाइएको हो । धम्मिका नेपाली क्रिकेटको लागि नौलो नाम होइनन् ।

गत अक्टोबरमा सम्पन्न एभरेष्ट प्रिमियर लिगमा धम्मिका भैरहवा ग्लेडिएटर्सको प्रमुख तिब्र गतिका बलरको रुपमा रहेका थिए । दासानायकेले नै भैरहवा सम्हालेको संस्करणमा धम्मिकाले ६ खेलबाट ८ विकेट लिएका थिए ।

श्रीलंकाको घरेलु क्रिकेटमा संलग्न धम्मिका अन्तर्राष्ट्रिय क्रिकेटबाट भने ७ बर्ष अघि नै बिदा भइसकेका छन् । उनले २०१५ मा श्रीलंकाका लागि आफ्नो अन्तिम टेस्ट र एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए ।

“यहाँ खेलिसकेको कारण पनि धम्मिकालाई नेपाली बलरहरु बारे राम्रो ज्ञान छ । कोही नयाँ मान्छे आउने हो भने पहिले त उनलाई नेपाली बलरहरुसँग अभ्यस्त हुनै समय लाग्नेछ । धम्मिका आउने हो भने त्यो समय उनले सोझै बलरहरुलाई तिखार्न तर्फ खर्च गर्नेछन्,” दासानायकेले विस्पोर्ट्जलाई भनेका थिए । “धम्मिका ट्वान्टी ट्वान्टीको गेम कन्डिसनलाई पनि राम्ररी बुझ्न सक्छन् । हामीलाई अहिले बलिँगमा नै बिशेषज्ञ प्रशिक्षक चाहिएको थियो । उनी हाम्रो लागि राम्रो फिट हुन्,” दासानायकेले थपे ।

नेपालले चार देशीय ट्वान्टी ट्वान्टी शृंखलाको आफ्नो पहिलो खेलमा शुक्रबार आयोजक ओमानको सामना गर्नेछ ।

Click to comment

Trending