Headline

बिश्वकप छनोट अघि नेपाललाई सताइरहेको चिन्ता

Published

on

नेपाली टोली ढुक्क छैन । तर पहिलो पटक ब्याटिँगबाट भने होइन ।

नयाँ पुस्ताले ब्याटिँगबाट दिदैं आएको प्रदर्शनले नेपालको केही हदसम्म लामो समयदेखिको चिन्ता समाप्त भएको छ । तर ठूलो प्रतियोगिताका महत्वपूर्ण खेलाडी पारस खड्काको सन्यासपछि नेपालको ब्याटिँगले अब कस्तो मोड लिने हो त्यो ओमानमा फेब्रुवरी १८ देखि शुरु हुने क्वालिफायरको समाप्तिपछि मात्र थाहा हुनेछ ।

नेपालको ओपनिँग जोडी तय छ । आशिफ शेख र कुशल भुर्तेलले पछिल्लो पटक त्रिदेशीय श्रृंखलामा दिएको शुरुवातले ट्वान्टी ट्वान्टी नेपालको लागि ब्याटिँगबाट चाहे अनुरुपको हुन सक्ने अपेक्षा गर्ने बल पुगेको छ ।

ओमानमै भएको क्रिकेट बिश्वकप लिग टु दौरान अमेरिका र ओमानसँगै त्यसअघिको दुई देशीय श्रृंखलामा पिएनजीबिरुद्ध नेपाललाई दुवैले राम्रै शुरुवात दिएका थिए । ठूलो साझेदारी नबनेको भएपनि आशिफ अथवा कुशल एकले राम्रो योगदान गर्दै आएका छन् ।

ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, दिपेन्द्र सिँह ऐरि, आरिफ शेख र कुशल मल्ल सबै ठूलो शट खेल्दै इनिङ्गस सम्हाल्न सक्ने क्षमता राख्छन् ।

दुई युवा खेलाडी बिबेक यादव र लोकेश बमले राम्रो सम्भावना देखाएको कारण छनोट अघि हुने ओमान, आयरल्याण्ड र युएईबिरुद्धको चारदेशीय श्रृंखलामा यी दुवै ब्याट्स्म्यानलाई प्रयोग गर्न मिल्ने अवसर छ ।

ब्याटिँगमा पहिलो पटक केही ढुक्क देखिएको नेपाललाई यस पटक भने बलिँग तर्फको चिन्ताले सताउनेछ । यसलाई प्रशिक्षक पुबुदु दासानायके पनि मान्छन् ।

“यो एउटा क्षेत्र हो जहाँ हामीले निकै सोच्नु परेको छ । हामीसँग तिब्र गतिले दवाब बनाउन सक्ने बलर छैनन् । छनोट अघि हुन गइरहेको श्रृंखलाले हामीसँग भएको स्रोतलाई उत्कृष्ट ढँगले कसरी सदुपयोग गर्न सकिन्छ हेर्ने अवसर भने छ,” दासानायकेले भने ।

ब्याटिँगमा ढुक्क भएकै कारण पुबुदुको रोजाईमा यो पटक बलिँग कन्सल्टेन्ट कोच धम्मिका प्रसाद परेका हुन् । “क्यानले ब्याटिँग र बलिँग दुवै तर्फको लागि कन्सल्टेन्ट कोच खोज्न मलाई भनेको थियो । हामी एक जनासँग सम्पर्कमा पनि आएको थियौं तर उहाँ उपस्थित हुने सम्भावना नरहेपनि आकस्मिक रुपमा बलिँगको लागि मात्रै प्रशिक्षक लिएर आएको थियौं,” उनले थपे ।

पहिले शक्ति गौचन र त्यसपछि बसन्त रेग्मीले नेपाली टोलीलाई बिदाई गरिसकेको स्थितिमा नेपालको स्पिन आक्रमण कप्तान तथा स्टार लेग स्पिनर सन्दिप लामिछानेको भरमा टिकेको छ । सन्दिपले नेपालको लागि निरन्तर विकेट लिइरहदा अन्य बलरहरु भने अर्को एण्डबाट डोमिनेट गर्न सकिरहेका छैनन् ।

शाहब आलम अर्का पूर्णकालीन स्पिनर हुन् भने त्यसपछिको जिम्मा कुशल मल्ल र दिपेन्द्रसँग हुनेछ । निष्कर्षमा पुगेर हेर्ने हो भने नेपालसँग अहिले शक्ति र बसन्त जस्तो डोमिनेट गर्न सक्ने स्पिन आक्रमण छैन ।

प्रधानमन्त्री कपकै दौरान फिटनेसका कारण संघर्ष गर्दै आएका सोमपाल कामी टिममा नअटाएपछि तिब्र गतिको बलिँगमा पनि नेपालको धार कम देखिन्छ । सोमपालको अनुपस्थितिमा करण केसी एक मात्र तिब्र गतिका बलरको रुपमा बचेका छन् जसले लामो समयदेखि विकेट लिने जिम्मा लिदै आइरहेका छन् । तर उनी आफै नयाँ बलसँगको आक्रमणमा निकै कम देखिने गरेका छन् ।

अविनाश बोहोराको प्रयोग १० ओभरपछि मात्रै हुँदै आएको छ भने कमल सिँह ऐरि जम्मा दुई खेल पुराना हुन् । यस्तोमा नेपालको शुरुवाती आक्रमणको जिम्मा ७ बर्षपछि पुनरागमन गरेका जितेन्द्र मुखियाको काँधमा आइपुगेको छ ।

२०१४ को ट्वान्टी ट्वान्टी बिश्वकप दौरान आकर्षक प्रदर्शन गरेका जितेन्द्रलाई दासानायकेले नै निखारेर २०१४ को बिश्वकपका लागि टिममा ल्याएका थिए । र उनले उत्कृष्ट प्रदर्शन पनि गरे ।

तर त्यस यता भने नेपालले खेल्दै आएका बिपक्षीको स्तर र समग्रमा ट्वान्टी ट्वान्टी क्रिकेटमै पनि परवर्तन आइसकेको छ । पछिल्लो केही समय घरेलु प्रतियोगिताहरुमा दिदै आएको उच्च प्रदर्शन नै जितेन्द्रको लागि सबैभन्दा ठूलो अनुभवको रुपमा रहेको छ ।

दासानायके प्रशिक्षक भन्दा बढी एक कुशल योजनाकार हुन् । बिश्वकप छनोटमा उनको योजनाको प्रमुख हिस्सा यस पटक बलिँगले लिने निश्चित छ । यसको लागि चार देशीय श्रृंखला उनको लागि सबैभन्दा उपयुक्त प्लेफर्म हुनेछ ।

Click to comment

Trending