Headline

६० बर्षको पर्खाई अन्त्य गर्दै सेनेगल पहिलो पटक अफ्रिकी च्याम्पियन

Published

on

निर्धारित समयमा चुकेपनि सादियो मानेले टाई ब्रेकरमा निर्णायक पेनाल्टीमा गोल गरेपछि सेनेगल आफ्नो फुटबल इतिहासमा पहिलो पटक अफ्रिका महादेशको च्याम्पियन बनेको छ ।

क्यामरुनको राजधानी याउन्डेमा आइतबार भएको अफ्रिका कप अफ नेसन्सको फाइनलमा सेनेगलले ७ पटकको किर्तिमानी बिजेता तथा मानेका लिभरपुलका साथी मोहम्मद सलाहको इजिप्टलाई टाई–ब्रेकरमा ४–२ ले पराजित गर्यो ।

गोलकिपर मोहमद अबु गबालले मानेको पेनाल्टीलाई सातौं मिनेटमा बचाएपनि ओलेम्बे स्टेडियममा त्यसको फाइदा उठाउन नसक्दा इजिप्ट नकआउट सबै चारवटा खेलमा अतिरिक्त समय सम्म खेल्न पुग्यो । अतिरिक्त समयमा पनि कुनै गोल हुन नसक्दा खेलको निर्णाय टाई–ब्रेकरबाट भएको थियो ।

सलाहले इजिप्टको पाचौं पेनाल्टी प्रहार गर्न कुरे पनि मोहमद अब्देलमोनेमले बारमा प्रहार गर्नुका साथै मोहनाद लशिनको प्रहारलाई एडुवार्ड मेन्डीले बचाउदा लिभरपुल स्टारले अवसर नै पाएका थिएनन् । मानेले निर्णायक पेनाल्टीमा गोल गरेपछि सलाहले हारको दुखमा आँसु बगाएका थिए ।

पछिल्लो दुई पटक फाइनलमा पराजित भएको सेनेगल २००२ को बिश्वकपसँगै अफ्रिकाको बलियो टोलीको रुपमा उदाए पनि उसले अफ्रिका कप अफ नेसन्स जित्न सकेको थिएन । यस पटक भने इजिप्टलाई किर्तिमानी आठौं उपाधिबाट रोक्दा सलाह पहिलो पटक महादेशीय च्याम्पियन बन्नबाट बञ्चित हुन पुगे ।

“यदि तपाईले कडा मिहिनेत गर्ने हो भने तपाईले जे चाहनु हुन्छ पाउन हुन्छ भन्ने यो राम्रो उदाहरण हो । म निकै भावुक बनेको छु किन भने सेनेगलका जनताले यो उपाधिका लागि पछिल्लो ६० बर्षदेखि यो क्षणलाई कुर्दै आएका थिए,” सेनेगल प्रशिक्षक अलिउ सिस्सेले भने ।

पछिल्लो ११ संस्करणमा पाँच वटा फाइनल गोलरहित बराबरी भएपछि टाई–ब्रेकरमा च्याम्पियनको छिनाफाने भएको हो । इजिप्ट आइभोरी कोस्ट र आयोजक क्यामरुनसँग गोलरहित बराबरीमा रोक्किदै टाई–ब्रेकरमा बिजयी भए पनि यस पटक भने असफल भएको हो ।

Click to comment

Trending