Headline

अफ्रिका कप अफ नेसन्सः क्यामरुनको सनसनीपूर्ण कमब्याक

Published

on

बुर्किना फासोबिरुद्ध तीन गोलले पछि परेको स्थितिबाट सनसनीपूर्ण कमब्याक गर्दै आयोजक क्यामरुनले अफ्रिका कप अफ नेसन्समा तेश्रो स्थानमा हात पारेको छ ।

दुई दिन अघि इजिप्टसँग सेमिफाइनलमा पराजित हँुदै बाहिरिएको क्यामरुनले शनिबार ३–३ गोलको बराबरीपछि पेनाल्टी सुटआउटमा बुर्किना फासोलाई ५–३ ले हरायो । एम्ब्रोइज ओयोँगोले याउन्डेमा निर्णायक प्रहारलाई गोलमा परिणत गर्दै क्यामरुनलाई सान्त्वना जित दिलाएका थिए ।

स्टिभ यागो र डिजिब्रिल ओटाराको गोलसँगै आन्द्रे ओनानाबाट आत्मघाती गोल हँुदा बुर्किना फासो २० मिनेट मात्र बाँकी रहेको समयसम्म ३–० ले अघि रहेको थियो । ओटारले ४९ औं मिनेटमा तेश्रो गोल गरेका थिए ।

स्टेफन बाहोकेनले ७१ औं मिनेटमा गोल गर्दै क्यामरुनलाई आशा दिएका थिए । प्रतियोगितामै उच्च लयमा रहेका भिन्सेन्ट अबुबाकरले त्यसपछि ८५ र ८७ औं मिनेटमा गोल गर्दै खेललाई टाई ब्रेकरतर्फ धकेलेका थिए । खेलका लागि क्यामरुन प्रशिक्षक टोनी कन्सेसोले सेमिफाइनल खेलको टोलीबाट ९ परिवर्तन गरेका थिए ।

बुर्किना फासोले भने सेमिफाइनलमा सेनेगलसँग ३–१ ले हारेको टिमबाट पाँच खेलाडीलाई बेञ्चमा राखेका थिए । अफ्रिका कप अफ नेसन्समा क्यामरुनले बुर्किना फासोबिरुद्ध भएको तीन खेलमा हारेको छैन । उसले दुईमा जित हात पारेको छ भने एकमा बराबरी भएको थियो ।

अबुबाकर अफ्रिका कप अफ नेसन्समा सर्वाधिक गोलकर्ताको रुपमा रहने तय भएको छ । ८ गोल गरेका उनी आफ्नै देशका कार्ल टोको–इकाम्बीभन्दा तीन गोलले अघि रहेका छन् । पहिलो पटक प्रतियोगितामा क्यामरुनका लागि अबुबाकर र टोको–इकाम्बी बाहेकका खेलाडीले गोल गरेका थिए ।

क्यामरुनले प्रतियोगितामा गरेका १४ गोलमा १३ अबुबाकर र टोको–इकाम्बीको नाममा रहन गयो । अबुबाकर १९७४ मा जायरका एनडाये मुलाम्बाले एकै संस्करणमा सर्वाधिक गोल गर्ने किर्तिमानबाट मात्र एक गोलले चुक्ने पुगेका हुन् । १९७० मा आइभोरी कोस्टका लरेन्ट पोकोउले राखेको ८ गोलको किर्तिमानमा भने उनले बराबरी गरे ।

Click to comment

Trending