Headline

होन्डुरसलाई माइनस १६ डिग्रीमा बिश्वकप छनोट खेलाउदै हराएपछि अमेरिकाको आलोचना

Published

on

अमेरिकाले २०२२ कतार बिश्वकप छनोट अन्तर्गत होन्डुरसबिरुद्धको खेल माइनस १६ डिग्रीको कठ्यांग्रिने चिसोमा खेलाइ दिएपछि नराम्ररी आलोचित बन्न पुगेको छ ।

बुधबार मिनेसोटा राज्यमा भएको खेलमा अमेरिकाले ३–० को सहज जित हात पार्यो । तर होन्डुरसले खेल खेलाउने निर्णयलाई अकल्पनीय भन्दै आलोचना गरेको छ । मध्यान्तरमा होन्डुरसका दुई खेलाडीलाई हाइपोथर्मियाका कारण फिर्ता बोलाउनु परेको थियो भने अन्य केही खेलाडीहरुलाई खेल समाप्त भएपछि उपचार नै गर्नु परेको थियो ।

खेल शुरु हुनु अघि नै होन्डुरसका प्रशिक्षक डारियो गोमेजले मिनेसोटामा खेल आयोजना गर्ने निर्णयलाई लिएर बिरोध गरेका थिए । यो साता आफ्नो देशमा ३० डिग्रीमा खेल्न मिल्ने स्थितिबाट एकै पटक माइनस १६ डिग्रीमा खेल्नु पर्दा आफ्नो टोलीले फुटबलको आनन्द उठाउने भन्दा निकै कष्ट भोग्नु परेको गोमेजले बताएका थिए ।

आयोजकको आधारमा अमेरिकाले आयोजना स्थाल छान्न पाउने हुँदा तीन बर्ष अघि मात्रै उद्घाटन गरिएको अलायन्ज फिल्डलाई छानेको थियो ।

“तपाईले जति सुकै तागत लगाए पनि यहाँ आएर खेल्दै जित्छु भन्नु अकल्पनीय नै हो । खेल शुरु भएको छैन तर मलाई यो कहिले सक्किएला जस्तो भइसकेको छ । यो आनन्द उठाउनका लागि नभएर कष्ट दिन गरिएको हो, खेल अघि गोमेजले भनेका थिए ।

मिनेसोटाको चिसोमा पसिनाले भिजेको टि–शर्ट जम्ने भएका कारण खेलाडीहरुलाई छुट्टै लुगा दिइएको थियो । तर खेल भने रोकिएन । अमेरिकाले २–० को अग्रता लिएपछि गोमेजले गोलकिपर लुईस लोपेज र फर्वार्ड रोमेल किटोलाई हाइपोथर्मिया भएका कारण फिर्ता बोलाएका थिए ।

चेल्सीका क्रिष्चियन पुलिसिचले तेश्रो गोल गरे तर होन्डुरसलाई परिणाम भन्दा खेलपछि ड्रेसिँग रुमको अवस्थाको चिन्ता थियो । केही खेलाडीहरुलाई न्यानो राख्नुका साथै रक्त सञ्चार गर्नका लागि आईभी ड्रप नै दिनु परेको थियो । त्यसपछि गोमेज झनै रुष्ट भएका थिए ।

“फुटबल यस्तो हुनु हुँदैन । मेरो सबै खेलाडीहरुलाई उपचार दिनु परिरहेको छ, कसैलाई आईभी ड्रप इन्जेक्ट गर्नु परेको छ,” उनले भने ।

अमेरिका प्रशिक्षक बरहाल्टरले भने चिसोमा खेलाइएको निर्णयलाई रक्षा गरेका थिए । “हामी अन्य देशमा जाँदा आद्रता निकै उच्च हुने गर्दन । हाम्रो खेलाडीहरुलाई डिहाइड्रेसन र थकानका कारण मसल क्र्याम्प हुन्छ । यो खेलको प्रकृति हो । हामीले यो ठाँउमा खेलको तालिका बनाउदा यहाँको औषत तापक्रममा खेलेको हो । यो सबैभन्दा उचित तापक्रम थियो,” उनले भने ।

खेल्ने कण्डिसनलाई लिएर अमेरिकी खेलाडीहरु आफैले पनि मजाक उठाउदै थियो । “अब यस्तै मौसममा फेरि खेल्नु पर्ने हो भने म चाँडै सन्यास लिन्छु,” फर्वार्ड टिम विहले हिँउमा कठंग्रिएको एक मानिसको फोटोलाई मिमको रुपमा सेयर गर्दै आफ्नो सामाजिक सञ्चालमा ठट्टा गर्दै थिए ।

Click to comment

Trending