Headline

आईपीएलका समुह चरणका खेलहरु दुई शहरमा मात्र खेलाइने 

Published

on

भारतीय क्रिकेट बोर्ड (बिसीसीआई) ले १५ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) का समुह चरणका खेलहरु दुई शहरमा मात्र गर्ने भएको छ ।

बिसीसीआईका अध्यक्ष सौरव गांगुलीले यस पटकको आईपीएल मुम्बई र पुणे गरेर दुई स्थानमा आयोजना हुने बताएका हुन् । त्यस्तै गांगुलीले कोरोनाका कारण निकै खराब अवस्था आएको खण्डमा मात्र भारतबाट अन्यत्र सारिने पनि जनाए ।

कोरोनाका कारण आईपीएलका अघिल्ला दुई संस्करण युएईमा आयोजना गरिएको थियो । सन् २०२० मा पुरै आईपीएल युएईमा खेलाइएको थियो भने सन् २०२१ को सुरुवाती खेलहरु भारतमा नै खेलाइए पनि बिभिन्न फ्रेन्चाइजका खेलाडी तथा अफिसियलहरुमा कोरोना संक्रमण देखिए पछि त्यस समयमा स्थगित गरेर त्यसको केही समय पछि रोकिएका बाँकी खेलहरु युएईमा नै आयोजना गरिएको थियो ।

भारतमा हाल कोरोनाको तेश्रो लहर चलिरहेको छ । हाल भारतमा प्रत्येक दिन एक लाख ५० हजार भन्दा बढी कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका विमारीहरू थपिने गरेका छन् । आईपीएल सुरु हुनु अघि तेश्रो लहर समाप्त हुनेमा आशावादी रहेका कारणले पनि बिसीसीआई भारतमा नै प्रतियोगिता गर्ने तयारीमा रहेको हो ।

बिसीसीआईले खेलाडीहरुको यात्रा कम होस् र खेलाडी तथा अफिसियलहरुमा संक्रमणको खतरा नहोस् भन्ने आशयले गर्दा नै दुई स्थानमा मात्र प्रतियोगिता आयोजना गर्ने मनस्थिति बनाएको हो । सन् २०२२ को संस्करणमा समुह चरणका ७४ वटा खेलहरु खेलाइने छ ।

“यस पटक आईपीएल भारतमा नै हुन्छ । यदि कोरोना संक्रमण उत्कर्षमा पुगेको खण्डमा मात्र हामी भारतको विकल्प हेर्नेछौं । हामीले समुह चरणका खेलहरु मुम्बई र पुणेमा खेलाउने बारेमा तयारी गर्दैछौँ । नकआउट चरणका खेलहरुका बारेमा भने पछि नै निर्णय लिइने छ,” गांगुलीले भने ।

मार्चको अन्त्यबाट मे सम्म चल्ने आईपीएल मुम्बईमा रहेका ब्रेबोर्न रंगशाला, डिवाई पाटिल र वानखेडे रंगशाला तथा पुणेको माहाराष्ट्र क्रिकेट एसोसिएसन रंगशाला गरेर चारवटा रंगशालामा खेलाइने छ ।     

Click to comment

Trending