Headline

बिश्वकप छनोटका लागि धम्मिका प्रसाद नेपालको बलिँग कन्सल्टेन्ट

Published

on

श्रीलंकाका पूर्व तिब्र गतिका बलर धम्मिका प्रसाद आईसीसी ट्वान्टी ट्वान्टी बिश्वकप छनोटका लागि नेपालको बलिँग कन्सल्टेन्टको रुपमा रहने भएका छन् ।

नेपाल क्रिकेट संघले उनलाई ओमानमा हुने चार देशीय ट्वान्टी ट्वान्टी श्रृंखला र बिश्वकप छनोटका लागि भित्र्याउने भएको हो । प्रशिक्षक पुबुदु दासानायकेले नेपाललाई बलिँग प्रशिक्षकको आवश्यकता देखेपछि धम्मिकालाई झिकाउन लागिएको हो ।

उनी शुक्रबार नेपाल आइपुग्ने छन् । धम्मिका नेपाली क्रिकेटको लागि नौलो नाम होइनन् ।

गत अक्टोबरमा सम्पन्न एभरेष्ट प्रिमियर लिगमा धम्मिका भैरहवा ग्लेडिएटर्सको प्रमुख तिब्र गतिका बलरको रुपमा रहेका थिए । दासानायकेले नै भैरहवा सम्हालेको संस्करणमा धम्मिकाले ६ खेलबाट ८ विकेट लिएका थिए ।

श्रीलंकाको घरेलु क्रिकेटमा संलग्न धम्मिका अन्तर्राष्ट्रिय क्रिकेटबाट भने ७ बर्ष अघि नै बिदा भइसकेका छन् । उनले २०१५ मा श्रीलंकाका लागि आफ्नो अन्तिम टेस्ट र एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए ।

“यहाँ खेलिसकेको कारण पनि धम्मिकालाई नेपाली बलरहरु बारे राम्रो ज्ञान छ । कोही नयाँ मान्छे आउने हो भने पहिले त उनलाई नेपाली बलरहरुसँग अभ्यस्त हुनै समय लाग्नेछ । धम्मिका आउने हो भने त्यो समय उनले सोझै बलरहरुलाई तिखार्न तर्फ खर्च गर्नेछन्,” दासानायकेले विस्पोर्ट्जलाई भने ।

“धम्मिका ट्वान्टी ट्वान्टीको गेम कन्डिसनलाई पनि राम्ररी बुझ्न सक्छन् । हामीलाई अहिले बलिँगमा नै बिशेषज्ञ प्रशिक्षक चाहिएको थियो । उनी हाम्रो लागि राम्रो फिट हुन्,” दासानायकेले थपे ।

दासानायकेको आग्रहमा क्यानले बिश्वकपका लागि आफ्नो कोचिँग स्टाफमा ल्याएको धम्मिका दोश्रो कन्सल्टेन्ट कोच हुन् । यसअघि नै भारतीय मुलका रघु राम श्रीवास्तव फिल्डिँग प्रशिक्षकको रुपमा नेपाल आइसकेका छन् ।

पहिले पनि दासानायकेसँग काम गरिसकेका श्रीनिवास अष्ट्रेलियन क्रिकेट बोर्डका हाई परफर्मेन्स प्रशिक्षक हुन् ।

Click to comment

Trending