Headline

विश्वकप छनोट : ब्राजिलको फराकिलो जित 

Published

on

यसै वर्ष आयोजना हुने कतार विश्वकप अन्तर्गत, दक्षिण अमेरिकी छनोटमा ब्राजिलले पाराग्वे माथि ४-० को फराकिलो जित दर्ता गराएको छ । जितसँगै अपराजित ब्राजिल शीर्ष स्थानमा यथावत रहेको छ ।  

त्स्तै ब्राजिलले दोश्रो स्थानको अर्जेन्टिनासँगको अंक दूरीलाई चार अंकमा पुर्याउन पनि सफल भएको छ । समान १५-१५ खेल खेलेका ब्राजिल र अर्जेन्टिना पहिलो र दोश्रो स्थानमा रहेका छन् । १२ जित र तीन बराबरी निकालेको ब्राजिलको ३९ अंक रहेको छ भने अर्जेन्टिनाको १० जित र पाँच बराबरी सहित ३५ अंक रहेको छ ।

 यस अघि नै कतारको लागि टिकट काटी सकेको ब्राजिलको जितमा राफिन्हा, फिलिप्पे काउटिन्हो, एन्टोनी र रोड्रिगोले समान १-१ गोल गरे । 

ब्राजिलको लागि राफिन्हाले खेलको २८ औं मिनेटमा पहिलो गोल गरे । उनले  मार्किन्होसले दिएको लामो पासलाई नियन्त्रणमा लिँदै गोल गर्दा ब्राजिलले खेलमा अग्रता लियो । पहिलो हाफमा दुबै पक्षबाट थप गोल हुन नसक्दा १-० को अवस्थामा नै सकियो । 

दोश्रो हाफमा ब्राजिल झन् आक्रामक रुपमा प्रस्तुत भयो । एक पछि अर्को गोलको प्रयास गरेको ब्राजिलकको लागि काउटिन्होले खेलको ६२ औँ मिनेटमा गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाए । उनले मार्किन्होसले दिएको पासमा गोल गरेका हुन् ।

खेल २-० को अवस्थामा अघि बढे पनि ब्राजिलले निर्धारित ९० मिनेट सकिनु अघि दुई मिनेटको अन्तरालमा दुई गोल गर्न सफल भयो । उसका लागि एन्टोनीले ८६ औँ तथा रोड्रिगोले ८८ औं मिनेटमा गोल गर्दा ४-० को फराकिलो जित हात पार्यो ।

Click to comment

Trending