Headline

अण्डर–१९ बिश्वकपः अन्तिम तीन ओभरमा चुक्दा अफगानिस्तान इंगल्याण्डसँग झिनो अन्तरले हार्यो

Published

on

रोमाञ्चक खेलमा अन्तिम तीन ओभर नियन्त्रणमा लिन सफल भएपछि इंगल्याण्ड अफगानिस्तानलाई १५ रनको झिनो अन्तरले पराजित गर्दै आईसिसि अण्डर–१९ बिश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

कुलिजमा भएको खेलमा जर्ज बेलले निर्णायक इनिङ्गस खेलेपछि ४७ ओभरमा घटाइएको खेलमा इंगल्याण्डले ६ विकेटको क्षतिमा २ सय ३१ रन बनायो । जितको धेरै नजिक पुगेको अफगानिस्तानलाई अन्तिम १८ बलमा मात्र २३ रनको आवश्यकता रहेको थियो ।

तर रेहान एहमदले ४६ औं ओभरमा तीन विकेट लिनुका साथै एक रनमात्र दिएपछि अफगानिस्तानले ४७ ओभरमा ९ विकेट गुमाउदै २ सय १५ रनमात्र बनाउन सक्यो ।

इंगल्याण्डले अब फाइनलमा अष्ट्रेलिया र भारतबीचको दोश्रो सेमिफाइनल बिजेतासँग आफ्नो दौश्रो उपाधिका लागि खेल्नेछ ।

१ सय ६२ रनमा ६ विकेट गुमाएको अफगानिस्तानलाई नुर अहमद (२५) र अब्दुल हादीले ५० रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए । जेम्स सेल्सले ४४ औं ओभरमा २० रन खर्चिएपछि अफगानिस्तानको नियन्त्रणमा खेल फर्किएको थियो ।

तर ४५ औं ओभरमा जोशुवा बोएडेनले चार रन दिएपछि रेहानले नुर सहित तीन विकेट लिँदा अफगानिस्तानको हातबाट खेल फुत्किएको थियो । १८ रन चाहिएको अन्तिम ओभरमा बोएडेनले मात्र दुई रन दिएका थिए । हादी ६० बलमा ३७ रन बनाउदै नटआउट रहे ।

अलाह नुरले ८० बलमा पाँच चौका र तीन छक्काको सहयोगमा ६० रन बनाए भने ओपनर महोम्मद इसाकले ४३ र बिलाल अहमदले ३३ रन बनाए । रेहानले इंगल्याण्डका लागि सर्वाधिक चार विकेट लिए ।

यसअघि पहिलो ब्याटिङ्ग गरेको इंगल्याण्डका लागि ओपनर जर्ज थोमसले ५० रन बनाए पनि इंगल्याण्डले १ सय ६ रन बनाउदा पाँँच विकेट गुमाइसकेको थियो । बेलले छैटौं विकेटका लागि रेहान (१६) सँग ३० र एलेक्स हर्टनसँग ९५ रनको ठोस साझेदारी गरेपछि इंगल्याण्डले चुनौतिपूर्ण योगफल खडा गर्यो ।

बेलले ६७ बलको सामना गर्दै ५६ रन बनाउदा ६ चौका प्रहार गरे । हर्टनले ३६ बलमा पाँच चौका र एक छक्काको मद्दतमा ५३ रन बनाए । ओपनर थोमसले चार चौका र दुई छक्का प्रहार गर्दा ६९ बलको सामना गरेका थिए । अफगानिस्तानका लागि नजिब जाद्रान र नुरले २–२ विकेट लिए ।

Click to comment

Trending