Headline

जब नेपालको ब्याटिङ्गले दासानायकेलाई सरप्राइज गर्यो

Published

on

कुशल भुर्तेल र आशिफ शेखले आफूलाई नेपाली ब्याटिँगको दुई नयाँ अनुहारको रुपमा स्थापित गर्दा पुबुदु दासानायके क्यानडामै थिए ।

कुशल र आशिफले गत अप्रिलमा नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिदेशीय ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय श्रृंखला दौरान नेपालले नसोचेको ओपनिँग गरेर देखाए । दुई शतकीय साझेदारी गरेको कुशल र आशिफको जोडीले अबको केही सयम नेपालको टप अर्डरमा प्रमुख भुमिका निभाउने तय छ ।

दुवै ब्याट्स्म्यानले नेदरल्याण्ड्स र मलेसियाबिरुद्ध गरेको साझेदारी दासानायकेले प्रतियोगिता समाप्त भएपछि मात्रै हेरेका थिए । त्यसपछि दासानायके आफै नेपाल आए, भैरहवा ग्लेडिएटर्सको प्रशिक्षकको रुपमा । भैरहवाको ब्याटिँग बिदेशी खेलाडीहरुको वरिपरि घुम्दै गर्दा उनले नजिकबाट आफ्नो टोलीका कुशल मल्ललाई मात्र नियालेका थिए ।

एक महिनाअघि नेपाली क्रिकेट सम्हाल्न आइरपुगेका दासानायके अहिले भने नेपालको ब्याटिँग देखेर अचम्म मानिरहेका छन् । उनले यस्तो नेपाली ब्याटिँग अर्डर देखि रहेका थिए जुन यसअघि आफूले छाडेको समयमा पाएका थिएनन् ।

दासानायकेले पछिल्लो पटक नेपाली टोली छोडेर फर्कदा टिमको ब्याटिँग अझै पनि पारस खड्का, ज्ञानेन्द्र मल्ल र शरद भेषावकर वरिपरि नै घुमेको थियो । पारसले सन्यास लिइसक्दा उनको नजरमा अब ज्ञानेन्द्र र शरद पनि टोलीको लागि ब्याटिँगको प्रमुख हतियार रहेका छैनन् ।

दासानायके नेपालको ब्याटिँग देखेर मख्ख छन् । र यही नयाँ पुस्ताको ब्याटिँग देखेर उनले लोकेश बम र बिबेक यादवालाई टिममा राख्दै जुवा खेल्ने कन्फिडेन्स पाएका छन् ।

“मैले २०१५ मा नेपाली टोली संघर्ष गरिरहेको भन्न म चाहन्न । तर अहिले जुन किसिमको पावर हिटिँग क्षमता नेपाली टोलीमा छ त्यो समय थिएन । एक महिना अघि म नेपाल आउदा मेरो लागि यो सरप्राइज थियो,” दासानायकेले मिडियासँग जुममा गरिएको कुराकानीमा भने ।

“जुन किसिमको प्रतिभाको बिकास नेपाली क्रिकेटमा भएको छ र स्किलमा सुधार आएको छ त्यसले मलाई निकै प्रभावित बनाएको छ । टिम भित्रै प्रतिस्पर्धा हुनु भनेको एकदम राम्रो हो किनभने उत्कृष्ट र फर्ममा रहेकाले मात्र स्थान पाउनेछन्,” उनले भने ।

दासानायके नेपाल छोडेर कन्सल्टेन्टको रुपमा २०१६ मा नेपाल फर्कदा दिपेन्द्र सिँह ऐरिको नेपाली क्रिकेटमा आगमन भइसकेको थिएन । अहिले दिपेन्द्र नेपालको मिडल अर्डरको मेरुदण्ड बनिसकेका छन् भने ट्वान्टी ट्वान्टी क्रिकेटमा पनि निकै आक्रमक ब्याटिँग गर्न सक्षम छन् ।

कुशल, आसिफ, कुशल मल्ल र दिपेन्द्र ट्वान्टी ट्वान्टीको लागि प्रमुख हतियार बन्दा दासानायके ज्ञानेन्द्र र शरदको जिम्मेवारीलाई कम गर्ने लक्ष्यमा रहने पक्का छ । र यही कारण उनले बिबेक र लोकेशलाई फिनिसरको रुपमा हेर्न सक्छन् ।

“अहिले टोलीमा राम्रा ब्याट्स्म्यानहरु धेरै छन् त्यसैले मलाई टिम छनोट गर्न राम्रो बिकल्प रहनेछ । ब्याटँगमा यो प्रतिस्पर्धा भएकै कारण पनि नेपाली टोली अहिले राम्रो दिशातर्फ अग्रसर छ,” उनले भने ।

Click to comment

Trending