Headline

नेपाललाई मौरिससबिरुद्ध अर्को जित निकाल्ने अवसर

Published

on

मौरिससबिरुद्ध मँगलवार दोश्रो खेलमा भिड्दा नेपाली राष्ट्रिय फुटबल टोली दुई टिमबीचको मैत्रीपूर्ण अन्तर्राष्ट्रियको श्रृंखलालाई सुखद बिदाई दिने लक्ष्यमा हुनेछ ।

चोटका कारण दुई खेलाडीलाई गुमाएको नेपालले पाहुना टोलीबिरुद्ध साँझ ४ः४५ मा दशरथ रँगशालामा खेल्नेछ । नेपालले यस खेलका लागि रक्षापंक्तिका प्रमुख खेलाडी अनन्त तामाङ र डेब्युको प्रतिक्षामा रहेका प्रशान्त अवस्थीलाई गुमाएको हो ।

यी दुई खेलाडीको स्थानमा दर्शन गुरुङ र मनिष डाँगीलाई बोलाइएको छ । दुवै खेलाडी पहिलो खेलका लागि उपस्थित रहेका थिए । पहिलो खेलमा १–० को जित हात पारेको नेपालका लागि सुदिप गुरुङ र आकाश बुढा मगरले डेब्यु गरेका थिए ।

दोश्रो खेलमा नविन गुरुङ, आशिष राई, सुशिल राई र सुभाष गुरुङलाई पनि डेब्युको प्रतिक्षा रहनेछ भने गोलकिपर शत्रुघन चौधरी पनि नेपालको लागि पहिलो खेल खेल्ने मौकाका लागि कुर्ने छन् ।

प्रतियोगिताहरु बाहेकका मैत्रीपूर्ण खेलहरुमा नेपालले ११ बर्षपछि शनिबार पहिलो जित हात पारेको थियो । यद्दपि पहिलो खेलको पहिलो हाफमा सन्तोषजनक प्रदर्शन गर्न असफल रहेको नेपाल मँगलवार मौरिससलाई खेलको शुरुवातदेखि नै दवाबमा राख्ने प्रयासमा हुनेछ ।

मौरिससले सिमित मौका पाएपनि नेपालको आफ्नै अग्रपंक्ति सोचे अनुरुप चल्न नसक्दा सांघुरो अन्तरले मात्रै पराजित भएको थियो ।

लामो समयपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको मौरिसस आक्रमणमा तेज हुन सकेको छैन । यस्तोमा नेपाललाई पहिलो खेलको गल्तिबाट सुधार गर्दै अर्को सुखद नतिजा आत्मसात गर्ने अवसर हुनेछ ।

Click to comment

Trending