Headline

निर्णायक ट्वान्टी ट्वान्टीमा होल्डरको कमाल, लिए चार बलमा चार विकेट

Published

on

इंगल्याण्डबिरुद्ध पाचौं तथा निर्णायक ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय जेसन होल्डरले अन्तिम ओभरमा चार बलमा चार विकेट लिएपछि वेष्ट इण्डिजले पाँच म्याचको श्रृंखला ३–२ ले कब्जा गरेको छ ।

ब्रिजटाउनमा भएको रोमाञ्चक खेलमा होल्डरको उत्कृष्ट बलिँग प्रदर्शनमा वेष्ट इण्डिजले इंगल्याण्डलाई १३ रनले पराजित गर्यो ।

इंगल्याण्डलाई अन्तिम ओभरमा २० रन चाहिएको अवस्थामा पहिलो बलमा नोबल भएपछि ६ बलमा १८ रनको आवश्यकता रह्यो । त्यस क्रममा क्रिजमा ४३ रनको साझेदारी गरेका साम बिलिँग्स र क्रिज जोर्डन रहेका थिए । दोश्रो बल डट गरेपछि होल्डरले लगातार जोर्डन, बिलिँग्स, अदिल रशिद र सबिक महमदुलाई पेभिलियन फर्काउदै वेष्ट इण्डिजलाई रोमाञ्चक जित दिलाएका थिए ।

पहिलो ब्याटिँग गरेको वेष्ट इण्डिजलाई कप्तान केरोन पोलार्ड र रोभमान पावेलले अन्तिम ३२ बलमा ७४ रन जोड्दै चार विकेको क्षतिमा १ सय ७९ रनको चुनौतिपूर्ण योगफलतर्फ डोर्याएका थिए । इंगल्याण्ड एक बल बाँकी छदै १ सय ६२ रनमा अल आउट हुन पुग्यो ।

इंगल्याण्डका लागि जेम्स भिन्सले ३५ बलमा ५५ रन बनाएका थिए । उनले ७ चौका र एक छक्का प्रहार गरे । १ सय १९ रनमा ६ विकेट गुमाएको पाहुना टोलीलाई बिलिंग्सले खेलमा कायमै राखेका थिए । उनले २८ बलमा दुई छक्का र एक चौकाको मद्दतमा ४१ रन बनाए ।

होल्डरले २ दशमलव ५ ओभरमा २७ रन खर्चदै पाँच विकेट लिएका थिए । यस्तै अकिल होसेनले चार ओभरमा ३० रन दिएर चार विकेट लिएपछि इंगल्याण्डको टप र मिडल अर्डर रोक्किएको थियो ।

काइल मायर्स (३१) र ब्रेण्डन किँगले पहिलो विकेटका लागि ५९ रन जोड्दा वेष्ट इण्डिजले राम्रो शुरुवात पाएको थियो । तर इंगल्याण्डले मिडल ओभरर्समा राम्रो बलिँग गर्दै वेष्ट इण्डिजको रन गतिलाई रोक्न सफल भएको थियो ।

पोलार्ड र पावेलले त्यसपछि वेष्ट इण्डिजलाई बिजयी योगफलतर्फ डोर्याए । पोलार्डले २५ बलमा ४१ रन बनाउदा दुई छक्का र एक चौका प्रहार गरे । पावेलले चार छक्का र एक चौका हिर्काउदै १७ बलमा ३५ रन बनाए ।

किँगले ३१ बलमा ३४ रन बनाउदा दुई छक्का र दुई चौका प्रहार गरे । इंगल्याण्डका लागि लियम लिभिँगस्टोन र रशिदले २–२ विकेट लिए ।

Click to comment

Trending