Headline

अलीको अल राउण्ड प्रदर्शनमा इंगल्याण्डले वेष्ट इण्डिजलाई हरायो

Published

on

चौथो ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा वेष्ट इण्डिजलाई ३४ रनले पराजित गर्दै इंगल्याण्डले पाँच खेलको श्रृंखलामा २–२ को बराबरी गरेको छ ।

ब्रिजटाउनमा शनिबार भएको खेलमा इंगल्याण्डले ओपनर जेसन रोय र कप्तान मोइन अलीको अद्र्धशतकको मद्दतमा ६ विकेटको क्षतिमा १ सय ९३ रनको बिशाल योगफल खडा गर्यो । अलीले कसिलो बलिँग गर्दै २ विकेट पनि लिएपछि वेष्ट इण्डिजले ५ विकेटको क्षतिमा मात्र १ सय ५९ रन बनाउन सक्यो ।

पहिलो विकेटका लागि काइल मायर्स र ब्रेण्डन किँग (२६) ले पहिलो ७ दशमलव २ ओभरमा ६४ रनको साझेदारी गर्दै ठोस शुरुवात दिलाएपनि इंगल्याण्ड बीचको ओभरमा घरेलु टोलीको रन गतिलाई रोक्न सफल भएको थियो । कप्तान केरोन पोलार्ड (१८ नटआउट) र जेसन होल्डरले पाचौं विकेटका लागि ४७ रनको साझेदारी गरेपनि वेष्ट इण्डिजलाई जितको लागि पर्याप्त हुन सकेन ।

मायर्सले वेष्ट इण्डिजका लागि सर्वाधिक २३ बलमा ४० रन बनाउदा चार छक्का र दुई चौका प्रहार गरे । होल्डरले तीन छक्का र दुई चौकाको मद्दतमा २४ बलमा ३६ रन बनाए । म्यान अफ द म्याच अलिले चार ओभरमा मात्रै २८ रन खर्चिएका थिए ।

रिस टप्लीले पनि चार ओभरमा मात्र २१ रन दिएर एक विकेट लिएका थिए । इंगल्याण्डले अन्तिम चार ओभरमा मात्र २६ रन खर्चेको थियो भने टप्लीले यस दौरान टिमको लागि गरेको १८ औं र २० औं ओभरमा मात्र ८ रन दिएका थिए ।

यसअघि ओपनर टम ब्यान्टन (चार) लाई सस्तैमा गुमाएको इंगल्याण्डलाई रोयले दोश्रो विकेटका लागि जेम्स भिन्ससँग ८५ रनको साझेदारी गर्दै ठूलो योगफलको आधार तैयार पारेका थिए । दुवै ब्याट्स्म्यानलाई चार रनको अन्तरमा गुमाएपछि अलीले लियम लिभिँगस्टोन (१६) सँग ६५ रनको साझेदारी गरे ।

७ छक्का प्रहार गरेका अलीले २८ बलमै ६३ रन बनाएका थिए । रोयले ४२ बलमा पाँच चौका र तीन छक्का हिर्काउदै ५३ रन बनाए । भिन्सले २६ बलमा ३४ रन जोडेका थिए । वेष्ट इण्डिजका लागि होल्डरले तीन विकेट लिए ।

Click to comment

Trending