Headline

सबैभन्दा कम तलब खाने प्रत्येक इंगलिस प्रिमियर लिग क्लबका फुटबलरहरु

Published

on

युरोपियन फुटबल अर्थात पैसा । खेलाडीहरुले एउटा क्लबबाट अर्को क्लबमा जानका लागि र क्लबहरुले पनि खेलाडीलाई आफ्नो क्लबमा भित्र्याउन करोडौं डलरको व्यापार गर्ने गर्दछन् ।

कुनै पनि खेलाडीको आगमनले आफ्नो क्लबको प्रतिष्ठा बढ्ने तथा च्याम्पियन्स लिग र घरेलु लिगको उपाधि जित्ने आशामा पैसाको खोलो बगाउन पनि पछि पर्दैनन् । खेलाडीहरु किन बेच गर्दा बाहेक उनीहरुले पाउने सेवा सुविधा तथा तलबमा पनि क्लबहरू वर्षेनी करोडौं डलर खर्च गर्न तयार हुन्छन् ।

युरोपमा हामीले देखे र सुनेको भनेको खेलाडीहरुले पाउने तलब प्रति हप्ता लाखौं युरो सम्म हुन्छ । तर विश्वको चर्चित लिगमा खेलाडीहरुले पाउने तलब सुन्दा तपाईहरुलाई विश्वास नलाग्न सक्छ । हालै ३८ वर्षीय डानी आल्भेस बार्सिलोनामा पुन अनुबन्ध हुन पुगे । उनको तलब कति होला त, अनुमान गर्न सक्नु हुन्छ ? उनले तपाईंले सोच्दै नसोचेको तलब खाने गर्दछन् ।

आल्भेसले बार्सिलोनाबाट हप्ताको मात्र एक युरो प्रति महिना तलब स्वरुप थप्ने गर्दछन । उनी यती कम तलबमा जानुको कारण भने बार्सिलोनाको आर्थिक अवस्थाले गर्दा हो । उनले आफ्नो पूर्ण तलब लिने हो भने अहिले पनि लाखौं डलर प्राप्त गर्न सक्छन् ।

तर खराब आर्थिक अवस्थामा रहेको क्याटलन क्लबलाई सहयोग गर्न आल्भेसले नाम मात्रको तलबमा क्लबसँग सम्झौता गर्न तयार भएका हुन् । बढी तलब खाने खेलाडीहरुको सुची लामै हुन्छ तर निकै कम रकममा अनुबन्ध भएका खेलाडीहरुबारे निकै कमलाई थाहा छ । हेरौं यस्ता इंगलिस प्रिमियर लिगमा थोरै तलब खानेहरुको सुचीः

१. नुनो टब्रेज, आर्सनल (२७ हजार पाउण्ड प्रति हप्ता)

आर्सनल इंगल्याण्डमा गर्विलो इतिहास बोकेको क्लब हो । यस क्लबमा खेल्न धेरै खेलाडीहरु लालायित नै हुन्छन् । त्यस्तै यस क्लबले पनि खेलाडीहरु भित्र्याउन मोटो रकम खर्च गर्ने गर्दछ ।

गोल किपर नुनो टब्रेजले केहि समय अघि मात्र क्लबमा अनुबन्ध भएको भए पनि निकै कम तलब खाने खेलाडीमा पर्दछन् । उनी आर्सनलबाट सबैभन्दा कम तलब भएका खेलाडी हुन् । उनले हप्ताको मात्र २७ हजार पाउण्ड लिने गरेका छन् ।

२१ वर्षीय टब्रेजले तलब कम खाए पनि उनको खेलमा भने केहि खोट लगाउने ठाउँ छैन र मिकेल अर्टेटाले पनि उनलाई पूर्ण विश्वास गर्दै धेरै भन्दा धेरै खेलमा मौका दिएका छन् ।

२. जेकब रामसे, एस्टन भिल्ला (१५ हजार पाउण्ड प्रति हप्ता)

युवा मिडफिल्डर जेकब रामसे एस्टन भिल्लाको लागि सबैभन्दा कम तलब खाने खेलाडी हुन् । उनको तलब मात्र १५ हजार पाउण्ड प्रति हप्ता रहेको छ ।

कम तलब खाए पनि २० वर्षीय रामसे एस्टन भिल्लाको लागि एक महत्वपूर्ण खेलाडीका रुपमा उदाएका छन् । उनले आर्सनलसँग उसकै घरेलु मैदानमा ३–१ गोल अन्तरले पराजित हुँदा भिल्लाको तर्फबाट आफ्नो पहिलो गोल पनि गरेका थिए ।

३. यान जाम्बुरेक, ब्रेन्टफोर्ड (३ हजार १५० पाउण्ड प्रति हप्ता)

चेक रिपब्लिकका मिडफिल्डर यान जाम्बुरेक प्रिमियर लिगमा सबैभन्दा कम तलब खाने खेलाडी मध्ये पर्दछन् । उनले एक हप्तामा तलब बापत ब्रेन्टफोर्डबाट तीन हजार १५० पाउण्ड प्राप्त गर्दछन् । प्रिमियर लिगमा सबैभन्दा कम तलब खानेमा उनी भन्दा अगाडी वाटफोर्डका जेरेमी एनगाकिया मात्र रहेका छन् । उनले २५ सय पाउण्ड प्रति हप्ता लिने गरेका छन् ।

च्याम्पियनसिपमा आफ्नो क्लबको लागि लगातार टोलीमा उत्कृष्ट प्रदर्शन गर्दै आएका २० वर्षिय जाम्बुरेकले क्लबको पहिलो टोलीमा भने डेब्यु गर्ने अवसर पाएका छैनन् ।

४. याकुब मोडर, ब्राइटन (१० हजार पाउण्ड प्रति हप्ता)

तपाईलाई सुन्दा पनि अचम्म लग्न सक्दछ तर स्विस अन्तर्राष्ट्रिय खेलाडी याकुब मोडर आफ्नो क्लबको सबैभन्दा कम तलब खाने खेलाडी हुन् । उनको तलब हप्ताको मात्र १० हजार पाउण्ड छ ।

लेच पोजनानबाट २०२० को सिजनमा प्रिमियर लिग क्लब ब्राइटनमा आबद्ध २२ वर्षिय मिडफिल्डरले आफ्नो टोलीबाट लगातार खेल्ने अवसर पाएका छन् ।

५. बिल नोरिस, बर्नली (५ हजार ७ सय ६९ पाउण्ड प्रति हप्ता)

बर्नलीका अतिरिक्त गोलकिपर विल नोरिस क्लबमा सबैभन्दा कम तलब खाने खेलाडी हुन् । उनको तलब हप्ताको ५ हजार ७ सय ६९ पाउण्ड मात्र रहेको छ । २०२० को समरमा बर्नलीमा आबद्ध भएका २८ वर्षिय नोरिसले आफ्नो टोलीको लागि प्रिमियर लिगमा मात्र तीन खेल खेलेका छन् ।

उनले अघिल्लो सिजन निक पोप घाइते भएको समयमा दुई खेल र आफ्नो पहिलो सिजनमा एक खेल मात्र खेलेका थिए ।

६. मार्कस बर्टिनेली, चेल्सी (३५ हजार पाउण्ड प्रति हप्ता)

धनी क्लब मध्यको एक अनि उत्कृष्ट किपर, तर पनि चेल्सीका बेटिनेलीले हप्ताको ३५ हजार पाउण्ड मात्र तलब थाप्दछन् । जसका कारण उनी स्ट्यामफर्ड ब्रिजमा सबैभन्दा थोरै तलब खाने खेलाडी हुन् ।

यसै सिजन फुलह्यमबाट चेल्सी आएका बर्टिनेली सायद तेश्रो रोजाइको किपर भएकाले गर्दा पनि होला तलब निकै कम रहेको । यस सिजन उनले चेल्सीका लागि खेल्ने अवसर पाएका छैनन् ।

७. रेमी म्याथ्युज, क्रिस्टल प्यालेस (४ हजार ७ सय पाउण्ड प्रति हप्ता)

प्रिमियर लिगमा सबैभन्दा कम तलब खाने खेलाडीको सुचीमा अर्का किपर रहेका छन् । क्रिस्टल प्यालेसका बैकल्पिक किपर रेमी म्याथ्युजले हप्ताको ४ हजार ७ सय पाउण्ड मात्र प्राप्त गर्दछन् ।

२७ वर्षिय म्याथ्युजले सन्डरल्याण्डबाट क्रिस्टल प्यालेसमा आबद्ध भए पछि अघिल्लो सिजन लिग वानमा मात्र छ खेल खेल्ने अवसर पाएका थिए ।

८. एन्थोनी गोर्डन, एभर्टन (१० हजार पाउण्ड प्रति हप्ता)

शायद लगातार पहिलो रोजाईमा रहे पनि प्रिमियर लिगमा सबैभन्दा कम तलब खाने खेलाडी हुन् एभर्टनका एन्थोनी गोर्डन । उनको तलब हप्ताको मात्र १० हजार पाउण्ड छ ।

२० वर्षिय गोर्डनले एभर्टनको लागि प्राय सबै खेलमा सुरुवातमा नै खेल्ने अवसर पाएका छन् तर पनि उनको तलब भने निकै कम रहेको छ ।

९.जेमी स्याकलटन, लिड्स युनाइटेड (१७ हजार पाउण्ड प्रति हप्ता)

लिड्सको तर्फबाट सबैभन्दा कम तलब खाने खेलाडी हुन् जेमी स्याकलटन । एकेडेमी देखि नै लिड्समा आबद्ध २२ बर्षिय स्याकलटनले तलब स्वरूप हप्ताको १७ हजार पाउण्ड मात्र खाने गर्दछन् ।

मिडफिल्डर र राइट ब्याक दुबै स्थानमा खेल्न सक्ने उनले लिड्सको लागि ७० भन्दा बढी खेल खेलेका छन् भने शिर्ष श्रेणीमा उक्लिए पछि २० खेल भन्दा धेरैमा खेल्ने अवसर पाएका छन् ।

१०. लुक थोमस, लेस्टर सिटी (२५ हजार पाउण्ड प्रति हप्ता)

लुक थोमस लेस्टर सिटीका लेफ्ट ब्याक हुन् । २० वर्षीय थोमसको लेस्टरमा तलब २५ हजार प्रति हप्ता रहेको छ । २०२० मा लेस्टरमा आबद्ध भएका उनले २४ खेलमा एक गोल गरेका छन् ।

उनको एक मात्र गोल म्यानचेस्टर युनाइटेड विरुद्दको खेलमा रहेको थियो । गत मे मा उनको गोलको मद्दतमा लेस्टरले युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गर्दा २३ वर्ष पछि पहिलो जित दर्ता गर्न सफल भयो ।

११. नेको विलियम्स, लिभरपुल (९ हजार पाउण्ड प्रति हप्ता)

फुल ब्याक नेको विलियम्स लिभरपुलको तर्फबाट सबैभन्दा थोरै तलब खाने खेलाडीमा पर्दछन् । वेल्स डिफेन्डर विलियम्स ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड र एन्डी रोबर्टसन घाइते भए पछि उनीहरुको स्थानमा टोलीमा आबद्द भएका थिए ।

तर विलियम्सले उनीहरुको कमि पुरा गर्न सकेका छैनन् । उनको प्रदर्शन राम्रो हुन नसक्दा उनी फेरी मैदानमा लिभरपुलको जर्सीमा उत्रने सम्भावना न्युन रहेको छ ।

१२. लियम डिल्याप, म्यानचेस्टर सिटी (८ हजार पाउण्ड प्रति हप्ता)

२०२० को सिजनमा डर्बी काउन्टीबाट म्यानचेस्टर सिटीमा आबद्ध फरवार्ड लियम डिल्याप क्लबमा सबैभन्दा कम तलब थाप्ने खेलाडी हुन् । उनको तलब हप्ताको आठ हजार पाउण्ड मात्र रहेको छ ।

१८ वर्षिय डिल्याले माथिल्लो श्रेणीमा सिटीको लागि डेब्यु गर्ने अवसर नपाए पनि अघिल्लो सिजन प्रिमियर लिग २ मा सिटीको तर्फबाट २४ खेल खेल्दै २० गोल गरेका थिए भने वर्षको उत्कृष्ट खेलाडी पनि चुनिएका थिए ।

१३. सोला शोरटायर, म्यानचेस्टर युनाइटेड (८ हजार पाउण्ड प्रति हप्ता)

१७ बर्षिय फरवार्ड सोला शोरटायरले गत मार्चमा प्रति हप्ता आठ हजार पाउण्ड तलबमा म्यानचेस्टर युनाइटेडससँग आफ्नो पहिलो व्यवसायिक सम्झौता गरे । उनी युनाइटेडको तर्फबाट सबैभन्दा कम तलब थप्ने खेलाडी हुन् ।

युनाइटेडमा आबद्द भए लगत्तै उनले न्युकासल युनाइटेड विरुद्धको खेलमा प्रिमियर लिगमा डेब्यु गर्ने अवसर पाए । त्यसको चार दिन पछि, १७ वर्ष २३ दिनका शोरटायर, युरोपा लिग अन्तगर्त रियल सोसिडाड विरुद्द मैदानमा उत्रदा युनाइटेडको लागि युरोपियन खेलमा डेब्यु गर्ने सबैभन्दा सानो उमेरका खेलाडी बन्न पुगे ।

१४. मार्क जिलेस्पी, न्युकासल युनाइटेड (११ हजार ५ सय ३८ पाउण्ड प्रति हप्ता)

२०२० मा मदरवेलबाट न्युकासल युनाइटेड आबद्द भएका गोल किपर मार्क जिलेस्पी क्लबमा सबैभन्दा थोरै तलब खाने खेलाडी हुन् । उनको तलब हप्ताको ११ हजार पाँच सय ३८ पाउण्ड मात्र छ । उनले गत वर्ष न्युकासलबाट काराबाओ कपमा तीन खेल खेलेका थिए ।

१५. बाली मुम्बा, नर्विच सिटी (५ हजार पाउण्ड प्रति हप्ता)

नर्विच सिटी जारी सिजनको इंगलिस प्रिमियर लिगको अंक तालिकाको पुछारमा छ र रेलिगेसन जोनमा रहेको छ । खराब प्रदर्शनका कारण उसले आलोचना पनि खेप्नु परेको छ । नर्विचका सबैभन्दा कम तलब खाने खेलाडी हुन् बाली मुम्बा ।

मुम्बाको तलब ब्रेंटफोर्ड र वाटफोर्डमा सबैभन्दा कम तलब खाने खेलाडीको भन्दा पनि कम छ । तलबका हिसाबले नर्विचका खेलाडीहरुले राम्रो खाने भए पनि प्रदर्शनको हिसाबले भने निकै निराशाजनक रहेको छ । मात्र ५ हजार पाउण्ड प्रति हप्ता लिने २० वर्षिय सेन्टर ब्याक मुम्बाले जारी प्रिमियर लिगमा एक खेल मात्र खेलेका छन् ।

१६. नेथन टेला, साउथह्याम्प्टन (१२ हजार पाउण्ड प्रति हप्ता)

साउथह्याम्प्टन एकेडेमीका उत्पादन २२ बर्षिय नेथन टेला क्लबबाट प्रति हप्ता १२ हजार पाउण्ड थाप्छन् र उनी क्लबमा सबैभन्दा कम तलब पाउने खेलाडी हुन् । उनले साउथह्याम्प्टनको लागि आफ्नो पहिलो गोल गत मे मा फुल्ह्याम विरुद्ध गरेका थिए । साउथह्याम्प्टनको तर्फबाट २७ खेल खेलेका उनको त्यो नै एक मात्र गोल हो ।

१७. ओलिभर स्किप, टोटनह्याम हट्स्पर (२४ हजार पाउण्ड प्रति हप्ता)

ओलिभर स्किप टोटनह्याम हट्स्परको चर्चित नाममा पर्दछन् । तर २१ वर्षिय मिडफिल्डर क्लबको तर्फबाट सबैभन्दा कम तलब खाने खलाडी हुन् । २१ वर्षिय स्किप टोटनह्यामबाट हप्ताको २४ हजार पाउण्ड तलब बुझ्ने गर्दछन् ।

२०१८ मा टोटनह्याममा आबद्ध उनले २०२०–२१ को सिजनमा लोनमा नर्विच सिटी पुगेका थिए । नर्विचबाट पुन टोटनह्याम फर्किएका उनले अहिले लगातार खेल्ने अवसर पाएका छन् ।

१८. जेरेमी एनगाकिया, वाटफोर्ड (२५ सय पाउण्ड प्रति हप्ता)

वाटफोर्डका जेरेमी एनगाकिया वाटफोर्डबाट मात्र नभएर पुरै इंगलिस प्रिमियर लिगमा कम तलब खाने खेलाडी हुन् । २१ वर्षीय राइट ब्याकको तलब हप्ताको २५ सय पाउण्ड मात्र रहेको छ ।
गत वर्ष वाटफोर्डमा आबद्ध भएका उनले क्लबको तर्फबाट च्याम्पियनसिपमा २५ खेल खेलेका थिए । यस सिजन उनले १० भन्दा बढी खेलमा वाटफोर्डबाट प्रिमियर लिगमा खेलेका छन् ।

१९. बेन जोन्सन, वेष्ट ह्याम युनाइटेड (१९ हजार २ सय ३१ पाउण्ड प्रति हप्ता)

वेष्ट ह्यामका फुल ब्याक बेन जोन्सन लण्डन रंगशालामा समर्थकहरु माझ निकै चर्चित नाम हो । तर १९ हजार दुई सय ३१ पाउण्ड तलब बुझ्ने २१ बर्षिय जोन्सन वेष्ट ह्यामको तर्फबाट कम तलब खाने खेलाडीको सुचीको पहिलो स्थानमा रहेका छन् ।

सात वर्षको हुँदा देखि वेष्ट ह्यामको एकडेमीमा रहेका जोन्सनले गत सिजन प्रिमियर लिगमा १४ खेल खेलका थिए भने क्लबको उत्कृष्ट युवा खेलाडी पनि चुनिएका थिए । यस सिजन पनि उनले १० भन्दा बढी खेलमा खेल्ने अवसर पाएका छन् ।

Click to comment

Trending